के तपाइलाई पिनासले सताएकाे छ? यदी सताएको छ भने यी अचुक अाैषधीको प्रयोग लाभदायक छन जनिराख्नुस

पिनास भए के गर्ने ? जाडो मौसममा देखिने प्रमुख समस्यामध्ये एक हो, पिनास । वातावरणीय प्रदूषण, धुलो, धुँवाको कारणले गर्दा हुन्छ ।
 नेपाल अन्य ठाउँमाभन्दा काठमाडौं उपत्यकामा पिनासको समस्या जटिल बन्दै गइरहेको पाइएको छ । हाम्रो खप्परका केही हाडहरुमा सानासाना हावा भरिएका कोठाहरु हुन्छन्, जसलाई प्यारानेजल साइनस भनिन्छ । यिनको संख्या लगभग ५० वटासम्म हुन्छन् । यी कोठाहरुमा श्वासप्रश्वास प्रक्रियामा हामीले लिएको हावालाई तातो र आद्र बनाउने कामका अतिरिक्त इन्फेक्सन र इरिेसनबाट बचाउने काम हुन्छ । खप्परका हाडहरुलाई हलुका बनाई टाउकाकोमा सन्तुलन कायम राख्ने र आवाज निकाल्ने काममा पनि साइनसको मुख्य भूमिका रहन्छ ।
 हामीले श्वास लिँदा यी साइनस खाली हुन्छन् भने श्वास फ्याँक्दा भरिन्छन् । यी साइनसलाई पातलो झिल्लीले ढाकेको हुन्छ, जसले म्युकस उत्पादन गर्दछ । यसैलाई हामी सिँगान भन्ने गर्दछौं । यसरी उत्पन्न भएको म्युकस नेजल क्यामिटी हुँदै बाहिर निस्कन्छ । यी साइनसहरुमा समस्या तब हुन्छ जब कुनै पनि कारणले साइनसको सिँगान बन्ने र बाहिर आउने प्रक्रियामा गड्बढ भई सिँगान धेरै आउने वा त्यहीँ उत्पन्न भएको सिँगान राम्ररी बाहिर आउन नसक्ने हुन्छ ।
 सिँगान धेरै बग्ने अवस्थालाई हामी सामान्यतया रुघा लागेको भन्ने गर्दछौं । सिँगान राम्ररी नखुल्ने या बेलाबेलामा धेरै फोहोरसहित खुल्ने अवस्थालाई पिनास भन्दछौं । यी अवस्थाहरु विविध कारणले उत्पन्न हुन्छन् । जस्तैः वातावरणीय प्रदूषण, धूलो, धूवाँ भएको चिसो ठाउँमा, कुपोषणले ग्रसित र रोगसँग लड्ने
क्षमता कम भएका व्यक्तिहरु प्रायः पिनासबाट पीडित भएको पाइन्छ । । त्यस्तै जन्मजात नाकका प्वालहरु सामान्य नभएका व्यक्तिहरुलाई पनि यो समस्या बारम्बार भइरहन्छ । नाकको संक्रमणबाट जीवाणु साइनसमा पुगेर पनि पिनास हुन्छ र पिनास भएपछि इन्फेक्सन प्रायः हुन्छ । सुरुमा एलर्जी, भाइरसको संक्रमणहुँदै व्याक्टेरियाको संक्रमण हुन्छ । त्यस्तै दाँतको संक्रमणबाट, नाकको ट्युमर, बाह्य पदार्थको प्रवेश, एलर्जी साइनसमा चोटपटक लाग्नु आदि कारणले पनि पिनास हुन्छ ।
 दुई नाकको प्वालबीचको सिस्टम बाङ्गिएर ड्रेनेज रोकिनु, नाकभित्र मासु पलाउनु आदिलाई पनि यसको कारण मानिएको छ । समान्यतया रुखाखोकी लागेपछि, फोहोर पानीमा पौडी खेलेपछि, दाँतका गिजा पाकेपछि र नाकको एलर्जीपछि पिनास भएको पाइन्छ । ज्वरो आउने, जाडो हुने, जीउ टाउको दाँत र आँखाकोमाथि दुख्ने, नाक बन्द हुने वा बेलाबेला बाक्लो सिँगान बग्ने, कहिलेकाहीं रगत वा पीपसहित सिँगान आउने र नाक सुख्खा हुने आदि लक्षणहरु पिनासमा हुन्छन् । 
नाकबाट दुर्गन्ध आउने, गन्धज्ञान नहुने, बोली तथा दृष्टि प्रभावित हुने हुन्छ । राति जागा वस्ने, दिउँसो सुत्ने धेरै बोलिरहने र मानसिक तनावले यो बढ्छ । आयुर्वेदमा प्राचित आचार्य सुश्रुतले नाकमा हुने ३१ प्रकारका रोगहरु मध्ये पिनासलाई मुख्य मानेका छन् । चिकित्साको दृष्टिकोणले यसलाई अपक्व पिनास (धेरै पातलो सिँगान बग्ने) र पक्क पिनास (नाक बन्द हुने वा बाक्लो सिँगान बग्ने) गरी दुई भागमा विभाजन गरिएको छ । आधुनिक आयुर्वेदका अनुसार यसलाई नवपिनास र जीर्ण पिनास गरी दुई भागमा बाँडिएको छ । समयमा उपचार नगर्दा नव पिनास पछि गई दीर्घ र जीर्ण पिनासमा परिणत हुन्छ । झट्ट हेर्दा पिनास साधारण रोग जस्तो देखिएता पनि बेलैमा सही उपचार नभएमा यसबाट विभिन्न जटिलताहरु आउँछन् । साइनसबाट संक्रमण दिमागमा गई ब्रेन एबसेस, मेनिन्जाइटिस, इन्सेफलाइटिस, म्यूकोपोलिसिल, आर्विटल कम्लिकेसन हुन्छन् । समयमै उचित उपचार भएमा रोगीलाई यी कम्प्लिकेसन हुन पाउँदैन । टप्यारोजल क्याभिटीका म्यूकस मेम्ब्रेनलाई प्राकृतिक अवस्थामा ल्याई म्युकसको प्राकृतिक स्रावलाई नियमित गर्नु चिकित्साको मुख्य उद्देश्य रहेको पाइन्छ । जसका लागि विभिन्न उपाय र औषधिहरुको प्रचलन छ । पिनासको उपचारार्थ विविध रासायनिक औषधि, जडीबुटीहरु र त्यसबाट बनेका औषधि योगहरुका साथै र शस्त्रकर्म समेत गर्न सकिन्छ । इन्फेक्सन भएका र शस्त्र कर्म गर्नुपर्ने बाहेकका विरामीलाई घरेलु उपचार वा आयुर्वेदिक उपचार गर्नु श्रेयष्कर हुन्छ ।
 वनमारा, काफलको बोक्रा, क्यामुनको बोक्रा, तुलसी, कष्टकारी, मसीझार आदि पिनासमा उपयोगी जडिबुटीहरु हुन् । जसलाई हामीले स्थानीयस्तरमा प्रयोग गर्न सक्दछौं । आयुर्वेदमा पिनासको चिकित्सामा स्नेहन, स्वेदन, वमन, विरेचन आदि विधानको उल्लेख छ । विरामीलाई विश्राम गराउने, हल्का उपाच्य भोजन दिने, प्रशस्त मात्रामा तातो झोेल पदार्थ दिने गर्नुपर्छ । दैनिक रुपमा बिहान सिधेनूनयुक्त मनतातो पानीले नेती गर्ने, षड्बिन्दु तेलको ३–३ थोपा दिनको ३ पटक नाकमा हालेर नस्य लिने, कब्जियत भएमा हटाउने, दहीमा मरीच र सख्खर राखेर सेवन गर्ने, पञ्चमूलिय क्षीरको प्रयोग गर्ने गर्नुपर्छ । लक्ष्मीविलास रस, महालक्ष्मीविलास रस, व्योषदि वटी, त्रिभुवनकीर्ति रस, च्वनप्रावशावलेह, गोदन्ती भष्म, अभ्रक भष्म, भृंगराजासव जस्ता ओषध योगहरु पिनासमा उपयोगी मानिन्छन् ।
 आधुनिक चिकित्सामा बन्द भएको नाक खुलाउन नजल ड्रप्सको प्रयोग, दुखाई कम गर्न एनाल्जेसिक र संक्रमण भएको खण्डमा आवश्यक मत्रामा एन्टिवायोटिक्सको प्रयोग गरिन्छ । त्यस्तै नाकभित्र मासु पलाएको कारणले पिनास भएको भए शल्यक्रिया गरी उपचार गरिन्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो । यही कुरालाई मनन् गरी चिसोबाट बच्ने, संक्रमित रोगीबाट टाढा रहने, फोहोर हातले नाक नकोट्याउने, धेरै तातो र आद्र वातावरणमा धेरै समय नबस्ने, एलर्जी हुने तत्व, धूलो, धूवाँ आदिबाट बच्ने, धूम्रपान तथा मद्यपान नगर्ने आदि उपायहरु अपनाउँदा पिनासबाट केही हदसम्म बच्न सकिन्छ । कपाल भाति, भस्त्रिका, नाडी शोधन आदि प्राण्याम दैनिकरुपमा गर्नु पिनासको उपचार र रोकथाम दुवैमा सहायक सिद्ध हुन्छ ।

, , ,

0 comments

Write Down Your Responses