गर्मीमा यसरी गर्नुस तपाईहरु आफ्नो छालाको स्याहार जनिराख्नुहोस
गर्मीमा धूलोधुँवाले पनि छालालाई बिगार्ने गरेको छ। गर्मीका कारण एलर्जी भएर अस्पताल धाउनेको संख्या कम छैन।गर्मीमा विशेषगरी अनुहारको छाला डढ्ने, पोतो आउने, सुक्खा वा चिल्लो हुने, रातो बिबिरा आउने, चिलाउनेजस्ता समस्या आउन सक्छ।
शरीरमा निस्कने पसिनाले फंगल इन्फेक्सन हुने, काछ लाग्ने पनि हुन सक्छ। पोतोबाट बच्न दिनमा तीनचार पटकसम्म मुख धुनुपर्छ। प्रशस्त पानी पिउनुका साथै चिकित्सकको सल्लाहमा विभिन्न क्रिम प्रयोग गर्न सकिन्छ।
क्रिम लगाउने तरिकाबारे पनि जानकारी लिन जरुरी छ।बजारमा १५ देखि ३० नम्बरका घामबाट जोगाउने क्रिम पाइन्छन्। धेरै गोरो छाला छ भने ४० देखि ५० नम्बरको र धेरै कालो छालाका लागि १५ देखि ८ नम्बरको क्रिम प्रयोग गर्नु पर्ने डा. खतिवडाको सुझाव छ।
चिल्लो छाला भएकाले सुक्खा खालको 'सन्ब्लक' क्रिमको प्रयोग गर्नुपर्छ। सुक्खा छाला हो भने चिल्लो क्रिम प्रयोग गर्नुपर्छ। घरभित्रै बस्दा वा घाम नलाग्दा पनि त्यस्तो क्रिम लगाउनुपर्छ।
बाहिर निस्कँदा छालाअनुसार त्यसमा पाँच एमएल थपेर क्रिम लगाउनुपर्छ। बिहान आठ, १२ र ३ बजे त्यस्तो क्रिम लगाउनु राम्रो हो।
चिकित्सक भन्छन् 'अहिलेको घामको पराबैजनिक किरण यति खतरनाक छ कि कुनै पनि औषधिले चाया आउनमा त्यति अवरोध गर्न सक्दैन तर आएको चाया फैलिनबाट रोक्न क्रिमले सक्छ।'
अनुहारमा क्रिम लगाएको केही समयपछि मात्र शरीर पूरै छोप्ने गरी कपडा लगाएर मास्क, चस्मा, छाताका साथ मात्रै यो बेला बाहिर हिँड्नुपर्छ। बजारमा पाइने मास्क निकै पातला र कम गुणस्तरका छन्। मास्कले काठमाडौंजस्ता सहरको धुलो छेक्न नसक्ने अनुसन्धानले पुष्टि गरिसकेको छ।सकेसम्म राम्रो मास्क लगाउनुपर्ने चिकित्सकको सुझाव छ।
यो बेला कम्तीमा एक पटक नुहाउने तथा पसिना सोस्ने सुतीको कपडा लगाउनुपर्छ। सातामा एक पटक अनुहारमा प्याक लगाउँदा छाला बलियो र चम्किलो हुन्छ।
घरमै काँक्रा, खर्बुजा, कागती, अंगुर, गोलभेँडा, बन्दागोपी, मेवा, दहीलगायतको प्याक बनाएर लगाउन सकिन्छ। गोलभेँडामा पाइने लाइसोपेन नामक तत्वले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ।
अनुहारमा क्रिम लगाएको केही समयपछि मात्र शरीर पूरै छोप्ने गरी कपडा लगाएर मास्क, चश्मा, छाताका साथ मात्रै गर्मीको बेला बाहिर हिड्नुपर्छ।
गाजरको जुस खानाले छालालाई घामको विकिरणले कम हानि पुर्याउँछ खर्बुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ। बजारमा पनि अहिले यस्ता फलफूलबाट प्याक पाइन्छन्। जुन लगाउँदा सहज हुनुका साथै समयको पनि बचत हुन्छ।
गर्मीमा छालालाई सुरक्षित राख्दै राम्रो देखाउन विभिन्न किसिमका 'ब्रान्डेट' क्रिमहरू नेपाली बजारमा पनि प्रशस्तै भित्रिसकेका छन्। दिनभरिको कामपछि साँझ 'फेसवास'ले मुख धोएर 'नाइट क्रिम'लगाउदा छाला सधैं ताजा रहन्छ।
क्रिम लगाउनु पहिले टोनरले अनुहार पुछ्ने र मोस्चराइजर क्रिम लगाउन भुल्न नहुने डा. खतिवडाको सुझाव छ। धेरै नै धुलोधुवाँमा हिँडनुपर्ने भएकाले समयसमयमा अनुहारको क्लिन्जिङ र फेसियल गर्नुपर्छ।
आँखाको सुरक्षा
गर्मीमा शरीरको महत्वपूर्ण र संवेदनशील अंग आँखालाई जोगाउन धेरैलाई हम्मेहम्मे पर्छ। नेत्ररोग विशेषज्ञ डा. आनन्दकुमार शर्माका अनुसार यो समयमा भाइरस तथा ब्याक्टोरियाका कारण आँखा पाक्ने, चिलाउने, रातो हुने, दुख्नेलगायतका समस्या आउँछ।
यस्तो समस्या देखिँदा आफूखुसीभन्दा चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ। अत्यधिक तापक्रमले आँखामा आँसुको मात्रामा कमी आउँदा सुक्खा हुन्छ।
आँखालाई स्वस्थ राख्न व्यायम गर्ने, पौष्टिक आहार सेवन गर्ने, प्रशस्त पानी पिउने, नियमित जाँच गर्ने, अन्य रोगबाट बच्ने, धूमपान नगर्ने, दबाब पर्ने गरी विद्युतीय डिभाइसहरू नचलाउने, कलकारखानामा काम गर्दा सचेत रहनुपर्छ।
दिनमा दुई÷तीन पटकसम्म सफा पानीले आँखा धुँदा, चियाकफीभन्दा ग्रिन टी पिउँदा, कम्तीमा ६ देखि ८ घन्टा निदाउँदा आँखा स्वस्थ हुन्छ।
व्यस्त र भागदौडको समयमा आँखा सुरक्षित राख्न उचित चस्माको प्रयोग गर्न भुल्नु हुन्न। यसले आँखालाई धुलो, धुवाँ, कीटाणुलगायतबाट बचाउने र चोटपटक लाग्न र विकिरणबाट समेत जोगाउँछ।
सनग्लासेस (घाममा लगाउने चस्मा) शतप्रतिशत अल्ट्रा भायोलेट विकिरणबाट बचाउने हुनुपर्छ। चिकित्सकको सल्लाहमा बजारमा पाइने खैरा रङका चश्माले नीलो भायोलेट विकिरण फिल्टर गरी आँखालाई रक्षा गर्छ।
बढी घाम लागेको ठाउँमा यस्तो चश्मा लगाउने र टोपीको प्रयोग गर्दा आँखा सुरक्षित हुन्छ। आँखा कमजोर भएका मानिसले चिकित्सकको परामर्शमा कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुपर्छ। यस्ता लेन्सहरू धुलोबाट बचाउनुपर्छ र सफा कपडाले मात्र पुछ्नुपर्छ।
गर्मीमा कपालको हेरचाह
गर्मीका बेला कपाल बिग्रिने अर्को समस्या हो। यो बेला प्रदूषित पानी, खानपान, धुलोधुवाँलगायत विभिन्न वातावरणीय कारणले कपाल सुक्खा हुने, झर्ने, टुक्रने, हाँगा पलाउने जस्ता समस्या देखिन्छन्।
यस्ता समस्याबाट बच्न सबैभन्दा पहिले त राम्रो स्याम्पुका साथ दैनिकजसो सफापानीले नुहाउनुपर्छ। गर्मी छ भन्दैमा धेरै चिसो पानीले नुहाउनु हुँदैन। नुहाउनुअघि तोरी वा नरिवलको तेलले टाउको तथा कपाल मसाज गर्दा उपयुक्त हुन्छ।
तेल लगाएको कपालमा टोपी लगाएर मात्र स्विमिङ गर्नुपर्छ। क्लोरिनयुक्त स्विमिङपुलको पानीले कपालमा नोक्सानी पुर्याउँछ। पछि कागतीको रसले कपालमा लगाएको तेल सफा गर्न सकिन्छ।
गर्मीसँगै धुलोधुवाँबाट बच्न टोपी या स्कापले टाउको ढाक्न सकिन्छ।
धेरै समय फिल्डमा काम गरेर फर्किंदा तत्कालै सफा पानीले कपाल धुनुपर्छ। कपाल हेरेर स्याम्पुको प्रयोग गर्न चिकित्सकले सल्लाह दिने गरेका छन्। चिल्लो निस्किरहने कपाल हो भने सधैं ड्राई स्याम्पु प्रयोग गर्नुपर्छ।
तामा तीन पटक अन्डाको सेतो भाग र कागतीको रस मिसाएर लगाउनलाई कपाल नरम तथा बलियो हुन्छ। नुहाएपछि कपाल कहिल्यै पनि झट्काउने बानी पनि राम्रो होइन।
गर्मीमा चाया पर्ने समस्या पनि निकै देखिन्छ। जसको समाधानका लागि दहीको प्रयोग गर्न सकिन्छ र चिकित्सकको सल्लाहमा औषधिको पनि प्रयोग गर्न सकिन्छ। समयसमयमा काट्नाले कपाल स्वस्थ हुन्छ।
हातखुट्टाको स्याहार
हातखुट्टा डढ्ने, फुस्रो हुने, फुट्ने, सुक्खा हुने, चाउरी पर्ने, चमक घट्नेजस्ता समस्या यो बेला देखिन्छन्। विशेषगरी बालबालिकाका हातखुट्टामा गर्मीले धेरै प्रभाव पार्ने गर्छ। नुन मिसाएर मनतातो पानीले बिहानबेलुका धुँदा हातखु्ट्टा नरम हुनुका साथै स्वस्थ हुन्छन्।
समयमा मेनिक्योर र पेडिक्योर गर्न पर्न आवश्यक भइसकेको छ। बजारमा अहिले हातखुट्टाका लागि मात्र पनि विभिन्न किसिमका स्तरीय लोसन र ग्लिसिरिङ बिक्रीमा छन्।
छालाअनुसारको लोसन प्रयोग गरेर काममा हिँड्दा राम्रो हुन्छ। राति सुत्नुअघि सफापानीले धोएर त्यस्तो लोसन र ग्लिसिरिङ लगाउन सकिन्छ। कहिलेकाहीँ कागतीले हातखुट्टा, कुहिनो र नङ सफा गर्दा चम्किलो हुन्छ।


0 comments
Write Down Your Responses