यसरी आफैँले जाँच्न सकिन्छ तपाईहरुको स्तन क्यान्सर जनिराख्नुस

मानिसमा देखिने क्यान्सरमध्ये आफैं जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन भनिन्छ । चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न सकिन्छ । 
ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, निप्पलको अवस्था, छालाको रङ, स्तनको कुनै भागमा गिर्खा भए-नभएको ध्यान दिनुपर्छ ।त्यस्तैगरी आफैँ जाँच गर्दा नुहाउने समय निकै राम्रो मानिन्छ । नुहाउँदा पनि सरलताका साथ जाँच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न अझ सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्न सकिन्छ । यसरी जाँच गर्ने क्रममा कुनै भाग कडा लागेमा तुरुन्तै उपचार गराउनुपर्ने चिकित्सकको भनाइ छ ।
 तर यसरी स्तनको जाँच आफैं गर्दा महिनावारी नियमित रूपमा भइरहेका महिलाले महिनावारी रोकिएको ४–५ दिनपछि यो जाँच गर्नुपर्दछ । किनकि महिनावारी भएका बेलामा स्तन अलिकति सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । यसो भएमा तुरुन्त जाँच गराउनुपर्ने बताउनुहुन्छ स्त्रीरोग विशेषज्ञ डा ज्योति अग्रवाल । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो नम्बरमा आउने बताए ।उनका अनुसार महिला उमेर पार गर्दै बुढ्यौलीतिर लाग्दा स्तन क्यान्सरको सम्भावना बढ्दै जाने हुन्छ । विभिन्न तथ्याङ्कअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ । उनले भने ‘कतिपय स्तन क्यान्सर वंशाणुगत कारणले पनि हुन सक्छ । तर सबैमा यो समस्या हुन्छ भन्ने छैन । कुनै महिलालाई ढिलो महिनावारी सुरु भएर चाँढै सुकेको छ भने पनि स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
 ढिलो बच्चा जन्माएका महिला र आफ्नो बच्चा जन्माएर पनि स्तनपान नगराउने महिलालाई स्तन क्यान्सर हुने खतरा निकै बढी देखिएको छ ।’ लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने, अनावश्यक विकिरणको (एक्सरे)सम्पर्कमा आउने, बोसोयुक्त खानेकुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र अति मोटा महिलामा पनि स्तन क्यान्सरको खतरा हुने उनले बताए । नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ भन्छन ‘स्तन क्यान्सर एक प्रकारको ट्युमर हो जुन व्यक्तिको स्तनका कोषिकाहरू अस्वाभाविक वृद्धि भएर हुन्छ । यसका कोषिकाहरू एकै ठाउँमा मात्र रहन सक्दैनन् । शरीरका अन्य तन्तुहरूमा सर्दै जाने गर्दछ । यसलाई समयमै नष्ट गर्न नसकेमा पूरै शरीरभरि पैmलिन गई बिरामीको मृत्यु पनि हुनसक्छ ।’ नेपाल क्यान्सर सोसाइटीका अनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ ।
 डा प्रजापति नेपालमा ३० देखि ५० वर्षका सहरी महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको बताए । यकिन तथ्याङ्क नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान छ । आजभोलि फेरिएको जीवनशैलीका कारण स्तन क्यान्सरका बिरामी बढ्दै गएको चिकित्सकको भनाइ छ । स्तन क्यान्सर लागेको हो होइन भनी पत्ता लगाउन म्यामोग्राफी (स्तनको मात्र एक्स–रे) गर्नु पनि आवश्यक रहेको चिकित्सक बताउँछन् ।यस रोगबाट बच्न समयमै विवाह गर्नुपर्ने, समयमै बच्चा जन्माई स्तनपान गराउनुपर्ने, व्यायाम गर्ने, मोटोपनबाट बच्ने र खानपानमा ध्यान दिनु आवश्यक भएको डा प्रजापतिको भनाइ छ ।

, , ,

0 comments

Write Down Your Responses