दर्ता नगरी सञ्चालनमा रहेका डान्सबार र रेष्टुरेन्टलाई कारवाही गर्ने तयारी
काठमाडौ,असार ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्ता नगरी सञ्चालनमा रहेका डान्सबार तथा रेस्टुरेन्टलाई कारवाहि गर्ने भएको छ । पटक–पटक दर्ता भएर मात्रै सञ्चालन गर्न आह्वान गर्दा पनि अटेर गर्ने व्यवसायीलाई कारवाही गर्ने काठमाडौ जिल्ला प्रशासनले चेतावनी दिएको छ । एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्रशासन कार्यालयले व्यवसाय दर्ता गर्न अटेर गरिरहे कारवाही प्रक्रिया थाल्ने चेतावनी दिएको छ ।
२०७० साल चैत १० गते ३५ दिने सूचना निकालेर डान्सबार, डान्स रेस्टुरेन्ट, क्याबिन रेस्टुरेन्ट, दोहोरी साँझ, मसाज पार्लर लगायत व्यवसाय दर्ता गरी प्रमाणपत्र लिन अनुरोध गरेपनि व्यवसायीहरुले अटेर गरेका थिए । फेरि गत वर्ष पुस १४ गते व्यवसाय दर्ता गर्न सूचित गरेपनि अझै धेरै यस्ता व्यवसाय दर्ताका लागि गएका छैनन् । श्रमजीवी महिलाहरुप्रति डान्स रेस्टुरेन्ट, डान्स बार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ मा यस क्षेत्रका व्यवसायहरु सञ्चालन गर्दा दर्ता गराई मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
यस्ता केन्द्रहरु पछिल्लो समयमा बाललबालिकालाई नै व्यवसायिक बाल यौनशोषण गराउने मुख्य अखडा बनेपछि प्रशासनले कारवाहीको चेतावनी दिएको हो । व्यवसाय दर्ता गर्दा त्यहाँ काम गर्ने सबै कामदारको विवरण र पारिश्रमिक अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने कारण व्यवसायीले अटेर गरिरहेका छन् ।


0 comments
Write Down Your Responses