हाम्रो नेपालमा प्रकृतिले निम्तायो विपत्ति हेर्नुस कहाँ के-के भयो २८ जनाको मृत्यु, सैयौ घर डुबानमा,हजारौं नागरिकको बिच्चली
काठमाडौं : अबिरल वर्षाका कारण देशैभरिको जनजीवन अस्तव्यस्त बनेको छ । बाढी र पहिरोमा परी मंगलबार २८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयलका अनुसार बाढी र पहिरोका कारण १० जना घाइते भएका छन् भने २४ बेपत्ता छन् ।
मन्त्रालयलद्वारा मंगलबार साँझ जारी विज्ञप्ती अनुसार प्युठानमा ६ जनाको ज्यान गएको छ । गुल्मीमा ५, पाल्पामा ४, बागलुङमा ४, मकवानपुरमा ३, रुपन्देहीमा २ र काठमाडौं, अर्घाखाँची, दोलखा र सर्लाहीमा १–१ जनाको मृत्यु भएको विज्ञप्तीमा उल्लेख छ । सैयौं घरहरु डुबानमा परेका छन् । हजारौंको बिचल्ली भएको छ ।
देशै भरी कहाँ के भयो हेर्नुहोस् :
गुल्मीमा पहिरोले पुरिएर पाँचको मृत्यु
अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ ।
यसरी ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन् । त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया छोरी सिमाना रानाको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभएको छ ।
पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते बनेका छन् ।
अहिले पनि घरमाथिबाट पहिरो खसिरहेका कारण पहिरोमा पुरिएका विसुखर्कका राना परिवारको उद्धार गर्न समस्या परेको प्रहरीले बताएको छ । बजार क्षेत्रका मानिस त्रासका कारण घरका सामान सुरक्षित स्थानमा सार्न थालेका छन् । बाढीले बम्घामा एक हल गोरु र एउटा गाई समेत बगाएको छ । विगत ५५ वर्षपछि गुल्मीमा यति ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।
सुनसरीमा सत्र सय घर डुबानमा, एकको मृत्यु – एक बेपत्ता
केही दिन अघिदेखिको अविरल परेको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् ।
गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
यसैगरी, छिटाहाको विभिन्न वडामा २५ घर साहेबगञ्ज गाविसको ७, ८ र ९ मा ५४ घर र घुस्की–४ मा थप ९ घर डुबान परेकाले ती डुबानमा परेकालाई सुरक्षित स्थानमा तथा आफन्तकोमा बसोबासका लागि प्रहरीले सहयोग गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा अहिले बिहान ८ बजेको समयमा दुई लाख ४३ हजार ७७४ क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव कोसी ब्यारेजमा मापन भएको बताए।
अहिले ब्यारेजका ५६ ढोकामध्ये ३१ वटा ढोका खोलिएका छन् । बिहान कोसी नदीमा बाढी घटेपनि अहिले पुनः बाढीको बहाव बढ्ने क्रममा रहेको पनि उनले जानकारी दिए ।
यता सुनसरीको बराहक्षेत्र–१ मा स्थानीय दूधखोलामा आएको बाढीले बगाई सप्तकोसी नदीमा पुर्याएकाले इटहरी उपमहानगरपालिका–१ आइतबारे निवासी १७ वर्षीया सुशीला कार्की बेपत्ता भएकी छिन् । उनको खोजी भइरहेको छ ।उनीसँगै बगेका भोजपुर जिल्लाको मानेभञ्ज्याङ–५ निवासी ज्ञानेन्द्र पराजुलीको भने स्थानीयवासी र प्रहरीले जीवितै उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
तिनाउ नदीमाको झोलुङ्गे पुल बग्यो, ५ सय भन्दा बढी घर जोखिममा
रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ । देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका बस्ती जोखिममा परेको र उद्धारमा खटिएका प्रहरी जाँदै गर्दा पुल भत्किएपछि वडा प्रहरी कार्यालय बुटवलका प्रहरी हरिनारायण चौधरी पुलसँगै खसेर घाइते भएका छन् ।
तिनाउमा आएको अनियन्त्रित बाढी घरका पक्की पर्खाल, जाली र ठोकर भत्काएर बस्तीमा पसेको हो । बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका छ हजार बढी व्यक्ति जोखिममा रहेको अनुमान छ ।
पुल बगाउँदा उपमहानगरपालिकासँग तिनाउपारिका बस्ती जोड्ने प्रमुख माध्यम अवरुद्ध भएको छ ।
यसबाट बुटवल आवतजावत गर्न बुटवलका मोतीपुर, सेमलार, फर्साटिकर लगायत क्षेत्रका जनता प्रभावित हुने भएका छन् । नदी किनारमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका करिब ५०० बढी घर जोखिममा परेका छन् । दुर्गानगर, न्यु दुर्गानगर, सीमानगर, खयरघारी लगायत २०० बढी घरमा पानी पसेको छ ।
भक्तपुर र थिमि डुबानमा
लगातार परेको वर्षाका कारणले भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका छन् । मध्यरातिदेखि हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी क्षेत्रका सयौँ घर डुबानमा परेको छ । त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन माविलगायत विभिन्न विद्यालय समेत डुबानमा परेका छन् ।
सिद्धिस्मृति अस्पताल डुबानमा पर्दा लाखाैं बराबरको यान्त्रिक सामान र उपचार तथा विद्यालय डुबानमा पर्दा पढाइ प्रभावित भएको छ । हनुमन्ते खोला आसपासका क्षेत्र र ठिमी लगायत क्षेत्रमा पानी पसेर सडक र खोलाभन्दा चार फिटसम्म उचाइमा पानी गएपछि घरभित्र पानी पसेको छ भने आवतजावत समेत निकै प्रभावित भएको छ ।गएराती देखि परेको अविरल बर्षाका कारण कपिलवस्तुको जनजिवन कष्टकर बनेको छ । जिल्लाका विभिन्न स्थानका करिब ७ सय बढि घर डुबानमा परेका छन् । वाणगंगा नगरपालिकाका कोइली बनगाई र मोतिपुरका २ सय घर उच्च जोखिममा छन् ।
वाणगंगा र कोइली नदीमा आएको बाढिका कारण २/३ घर बगाएर लगेको स्थानीयले बताएका छन् ।
कोइली बनगाई र लक्ष्मणघाट आसपासका डुबानमा परेका घर परिवारलाई नेपाली सेना, शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपरा र इलाका प्रहरीे कार्यालय पिपराले विहानै देखि उद्धार गरेको हो । नेपाली सेना कालीजंग गण गोरुसिगेका गणपति पदम बहादुर बुढाको नेतृत्वमा १० घरपरिवारका ५५ जनालाई उद्दार गरिएको छ ।लगातारको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत गरेको छ । नारायणीमा रहेको जल मापन केन्द्रले आठ मि पानीको सतह देखाएको छ । यो जोखिमको अवस्था हो । पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको छ ।
नारायणीमा पानीको सतह बढेपछि गैँडाकोटदेखि त्रिवेणीसम्ममा तटीय क्षेत्रका बासिन्दामा खैलाबैला मच्चिएको छ । बाढीले त्रिवेणीभन्दा माथिल्लो क्षेत्र र तल्लो क्षेत्र पक्लिहवा र नर्सही बढी कटान र डुबान गर्न सक्ने भन्दै स्थानीय बासिन्दाले सुरक्षित गन्तव्य रोजेका छन् । ‘खतराको सङ्केत देखियो हामीले सबै हिसाबले सुरक्षित हुने उपाय अपनाएका छाैँ” प्रजिअ महादेव पन्थले भने, “बाढी मापन केन्द्रमा लगातार साइरन बजेकोछ हामी त्यसलाई नियालेका छाैंँ, अब पानीको सतह ८ दशमलव ४ मिटर भए बाढीले ठूलो क्षति गर्न सक्ने क्षति रोक्ने उपाय अपनाएका छौँ ।’
भारतसँग सीमा जोडिएका नवलपरासीका हरपुर, रामपुर खडौना, बडहरा, दुबौलिया, भुजहवा गाविससहित १३ गाविस जलमग्न बनेको छ ।
त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । त्रिवेणीस्थित गण्डक बाँधमा पानी तीन लाख ४८ हजार क्युसेक लिटर प्रतिसेकेन्ड बहाव रहेको र त्यो बढ्दो क्रममा भएको त्रिवेणीका सुरज कोहारले बताए ।
झापामा पाँचको मृत्यु
शनिबारदेखि लगातार परेको वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मृत्यु भएको छ भने एक घाइते र एक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा गरामनी–२ डाँडागाउँ निवासी ३४ वर्षीय लुखीराम सोरेन, तोपगाछी–८ क्याम्पा बजार निवासी विशाल भुजेलका दुई वर्षीय छोरा मनिष, धुलाबारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३५ वर्षीय टेकेन्द्र खड्का छन् ।
त्यस्तै गौरीगन्ज–५ का ११ वर्षीय दीिपेश गिरी घाइते भएका छन् । घर नजिकैको खोला हेर्न गएका उनी खोला बढेर आएपछि भाग्ने क्रममा कल्भर्टबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।
उता माईखोलामा आएको बाढीले बगाएर भारत घर भई हाल कुमरखोद–४ बस्दै आएका १८ वर्षीय कालु भनिने बाबुलाल मण्डीलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए । लगातार आएको वर्षाका कारण जिल्लाका दुई हजार २८३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापामा अझै पनि ६६९ घर डुबानमा रहेको बताइएको छ ।
बाढीका कारण अधिकांश ठाउँ प्रभावित भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
प्रभावित भएका स्थानमा जोखिममा परेका जनसमुदायलाई तत्काल राहत उद्धारमा लाग्न सबै पक्षलाई आग्रह गरिएको प्रजिअ मदन भुजेलले बताउनुभयो । आज मात्रै भुजेलको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी सबैलाई सुरक्षित स्थानमा राख्न र प्रभावितलाई खाना, पानी र स्वास्थ्यसम्बन्धी हेरचाह गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरिएको छ ।
पाल्पामा पहिरोले घर पुरिँदा बालिकाको मृत्यु
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिरोले घर पुरिँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तिलोत्तमा उच्च मावि दोभानमा कक्षा ९ मा पढ्ने १४ वर्षीया अस्मिता विक रहेकी छिन् । राति सुतिरहेको बेला सडकमाथिको पहिरोले घर पुरिँदा च्यापिएर ज्यान गएको स्थानीय नारायण थापाले जानकारी दिए। पहिरोले तीन घर पुरिएका छन् भने अन्य चार घर जोखिममा रहेको स्थानीयले बताएका छन् ।
पहाड चिरिएर पहिरो खस्न थालेपछि पर्वतमा चारघर विस्थापित
बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् ।
लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा परेर गत एक हप्तादेखि पहिरो खस्न थालेपछि माझफाँट गाविस–९ का चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने बाँकी २७ घर पनि जोखिममा परेका हुन् ।
स्याफ्रूबेँसीमा पहिरो गएपछि पाल र चीनबीच व्यापार ठप्प
पहिरोका कारण बिहानदेखि स्याफ्रू– टिमुरे खण्डको सडक अवरोध हुँदा नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प भएको छ । निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत इलेक्टिसियन सानो कान्छा तामाङअनुसार वृदिम गाविस–१ फ्याङ्लुङ पाखाबाट झरेको पहिरोले सडकको सतह पुरी आवतजावतमा समेत अवरोध पुर्याएको छ ।
सामान लिन केरुङतर्फ जाँदै गरेका ५० भन्दा बढी कन्टेनर बीच सडकमा अलपत्र परेको बताइएको छ । वर्षाका कारण स्याफ्रूबेँसीदेखि रसुवागढीसम्म विभिन्न भागमा स–साना पहिरो जाने क्रम बढेको र पहिराकै कारण मेदानखुदुङमा बिजुलीको तार चुँडिएर टिमुरे रसुवागढी क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।
कास्कीमा एक बेपत्ता, तीन दर्जनभन्दा बढी घर डुबानमा
सोमबार साँझदेखि परेको भीषण वर्षासँगै आएको बाढीले कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाउनुका साथै तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।
म्याग्दी घर भई हेम्जामा बस्दै आएकी ४० वर्षीया मोतीकला छन्त्याललाई सोमबार साँझ सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
सेती नदीमा आएको भीषण बाढी पोखराको रामघाटमा थुनिँदा सुकुम्बासी बस्तीका छ घर डुबानमा परेका छन् । प्रहरीले रातिनै उनीहरुलाई सुरक्षित स्थानमा सारेको थियो । रामघाटबाटै बगाएर ल्याएका छ वटा बङ्गुर पनि निकालिएको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताए । यस्तै, पोखराको कस्केरीमा रहेका २० वटा सुकुम्बासीका घर पनि डुबानमा परेका छन् । त्यस्तै, कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा व्यक्तिगत घर र एउटा सामुदायिक क्लिनिक समेत बगाएको छ ।

0 comments
Write Down Your Responses