६० हजारभन्दा धेरै जनाले भरे ट्याक्सीको फारम फारम भर्नको लागि बस रिजर्भ

काठमाडौं, भूकम्पपीडित परिवारका लागि एक हजार पाँच सय नयाँ ट्याक्सी दर्ता आवेदन खुलेको छ । तर, बुधबारसम्म ६० हजारभन्दा बढीले फारम दर्ता गरेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितका लागि एक हजार पाँच सय नयाँ ट्याक्सीको दर्ता खोल्ने निर्णय २१ चैतमा गरेको थियो । ५ साउनदेखि २ भदौसम्मका लागि फारम भर्ने समय तोकिएको छ । फारम भर्न एकान्तकुनास्थित यातायात कार्यालयमा भूकम्पपीडितको दैनिक ठूलो भीड हुने गरेको छ । 
 ‘सरकारको निर्णयअनुसार नयाँ ट्याक्सीको दर्ता खुला गरिएको हो । यसमा भूकम्पपीडितले मात्रै आवेदन दिन पाउँछन्,’ विभागका प्रवक्ता वसन्त अधिकारीले भने, ‘साउन ५ गतेबाट आवेदन खुलेको हो । अब केही दिन बाँकी छ । यस अवधिमा ६० हजारभन्दा धेरै आवेदन परिसकेको छ । यो बढेर ८० हजारसम्म पुग्ने विभागको अनुमान छ ।’ दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगाका भूकम्पपीडितले मात्र फारम भर्न पाउँछन् ।नयाँ पत्रिकामा खबर छ । फारम भर्न बस रिजर्भ ट्याक्सी दर्ताको फारम भर्न भूकम्पपीडित बस नै रिजर्भ गरेर एकान्तकुना पुगेका छन् । विभागका प्रवक्ता वसन्त अधिकारीले भने, ‘फारम भर्न टाढा–टाढाबाट समेत भूकम्पपीडित आएका छन् ।
 केटाकेटीदेखि बुढासमेत लाइनमा बसेको देखिएको छ । कति त बस नै रिजर्भ गरेर आएका छन् ।’ फारम भर्न भूकम्पपीडित स्वयं उपस्थित हुनुपर्ने तथा भूकम्पपीडितको परिचयपत्र, हालसालै खिचिएको फोटो र सय रुपैयाँ दस्तुरको व्यवस्था गरिएको छ । गोला प्रथाबाट छनोट आवदेन धेरै भएकाले गोला प्रथाबाट छनोट भएका व्यक्तिले मात्र ट्याक्सी दर्ता गर्न पाउने यातायात व्यवस्था विभागले जनाएको छ । प्रवक्ता वसन्त अधिकारीले भने, ‘आवेदन धेरै पर्ने देखिएको छ । व्यवस्थपन गर्न कठिन छ । अब सबैको फारम दर्ता नम्बर एकै ठाउँ जम्मा गर्नेछौँ । गोला प्रथाबाट जसको नाम छनोट हुन्छ उनीहरूको नाममा ट्याक्सी दर्ता हुनेछ ।’

, ,

0 comments

Write Down Your Responses