वेश्यावृत्तिको दलदलबाट भागेकी सोनल भन्छिन् आमाले मलाई १२ वर्षमै ग्राहकसँग पठाइन्
परिवर्तित सामाजिक स्थितीमा छोरीहरु जन्मँदा उत्सव मनाउने नयाँ परम्परा सुरु भइसकेको छ तर गुजरातस्थित वाडिया गाउँमा यो निकै पुरानो चलन हो ।
यसकारण होइन कि त्यहाँ महिलालाई सम्मान दिइन्छ, कारण यो हो कि उनीहरुले ठूलो भएर वेश्यावृत्ती प्रथालाई अघि बढाउनुछ ।
यो गाउँमा जन्मिएकी र आफूलाई वेश्यावृत्तिको दलदलबाट बचाउन सफल सोनललाई पहिलो पटक १२ वर्षको उमेरमा एक ग्राहकसँग पठाइयो ।
हाल २० वर्षकी सोनलले बीबीसीसँग कुरा गर्दै भनिन्, ‘पहिलो पटक मलाई ग्राहकसँग पठाउँदा म १२ वर्षको मात्र थिएँ ।
त्यतिबेला मलाई के गर्नुपर्छ भन्ने केही थाहा थिएन । मात्र यति थाहा थियो कि, आमाले भनेकी हुन्, त्यसकारण मैले गर्नैपर्छ । किनभने मैले बाल्यकालदेखि नै आमाले पनि यस्तै गरिरहेको देखेकी थिएँ ।’तीन कक्षापछि पढ्न नपाएकी सोनलका अनुसार उनका गाउँका लगभग सबैजसो किशोरी, युवती र महिला भिन्न ग्राहकलाई खुसी बनाउने काम गर्दछिन् ।
सोनल बताउँछिन्, ‘मेरो पनि जन्म त्यस्तो घरमा भएको थियो जहाँ मेरी आमालाई मेरो बुवा को हो भन्ने थाहा छैन किनभने आमाको थुप्रै पुरुषसँग सम्बन्ध थियो ।’
सोनलका दुईजना भाइहरु पनि छन् र उनले सबैको भरण–पोषणको लागि त्यो काम गरिन् जुन उनकी आमाले गर्ने गरेकी थिइन् । सोनलको जिन्दगी पनि सायद आफ्नी आमाको जस्तै बित्थ्यो तर त्यतिबेला उनको भेटघाट अनिल नामका एक ग्राहकसँग भयो ।
सोनल भन्छिन्, ‘अनिल हरेक हप्ता मसँग आउँथ्यो । हामीबिच कुराकानी हुन थाल्यो र हामी एक अर्काको प्रेममा पर्यौं । मेरो घरको सबैलाई हाम्रो सम्बन्धबारे जानकारी थियो तर कसैले पनि केही भनेन किनभने उनले हामीलाई धेरै पैसा दिने गर्दथे ।’
सोनलका अनुसार त्यतिबेला एक धनी ग्राहकले उनलाई आफ्नो लागि राख्न चाहन्थे त्यसकारण उनको परिवारले सोनललाई अनिलसँगको सम्बन्ध तोड्न दबाब दियो । उनी भन्छिन्, ‘म अनिलसँग त्यहाँबाट भागेर अहमदाबाद आएँ । त्यसपछि हामीले अदालतमा विवाह गर्यौं । मेरो यो कदमले गाउँमा ठूलो हंगामा भयो ।
मेरो परिवार म फर्किओस् भन्ने चाहन्थे किनभने मेरो यस्तो कामबाटै घर चलेको थियो ।’
वाडियाको इतिहासमा पहिलोपटक कुनै महिलाले प्रेम विवाह गरेकी थिइन् । उनको यो कदमले यो व्यवसायमा संलग्न भएकालाई डर भयो किनभने सोनलको जस्तै अरु युवती भागे भने आफ्नो व्यवसाय चौपट हुनेछ ।त्यसकारण उनीहरुले सोनललाई कुनै प्रकारले (जिउँदो वा मृत) गाउँमा फिर्ता ल्याउने सोचे जसका कारण सोनलको जिन्दगीले एकपटक पुनः मोड लियो जब उनलाई थाहा भयो कि अनिल पहिले नै विवाहित थिए ।
सोनल भन्छिन्, ‘अनिल मलाई प्रेम गर्दथे र यो कामबाट बाहिर निकाल्नका लागि उनले मसँग विवाह गरे । उनकी श्रीमती उनीसँग बस्दिनथिन् तर सम्बन्धविच्छेद गर्न भने तयार थिइनन् ।
’
‘अनिलकी पहिलो श्रीमतीलाई हाम्रो सम्बन्धमा केही रिस थिएन तर मलाई कसैको दोस्रो श्रीमतीको रुपमा हेरिनु ठिक लागिरहेको थिएनँ ।’
यसै हालतमा ‘विचरता समुदाय समर्थन मंच’ नामक संस्थाका मित्तल पटेलले सोनलसँग सम्पर्क गरे ।
मित्तलले बीबीसीलाई बताए, ‘वाडियामा यो व्यवसायलाई रोक्न असम्भव जस्तै छ किनभने त्यहाँ दलालको खतरा छ । मैले त्यहाँ स्वास्थ्य र शिक्षाजस्तो स्तरमा लामो समयसम्म काम गरेर मानिसहरुको भरोसा जितेको छु ।’मित्तलका अनुसार गाउँका करिब ९० परिवार आफ्ना छोरीहरुलाई देहव्यापारबाट बचाएर उनीहरुलाई पढाइरहेका छन् । गाउँमा पहिलो पटक सन् २०१२ मा विवाह गराइयो र त्यहाँ विवाहित महिलालाई उनका श्रीमानले देह व्यापारमा लगाउँदैनन् ।
अहिले सोनल मित्तलको मद्दतले ब्यूटी पार्लरको काम सिकिरहेकी छिन् । उनी अनिललाई प्रेम त गर्छिन् तर उनको दोस्रो श्रीमती बन्न चाहन्नन् ।
सोनलकी आमा र फूपू उनलाई फिर्ता बोलाइरहेका छन् तर अब सोनल वेश्यावृत्तीको दलदलमा फस्न चाहन्नन् ।
मित्ततल बताउँछन्, ‘सोनललाई दलालबाट खतरा थियो, त्यसकारण यहाँका एक पत्रकारको सहायताबाट सोनलको तर्फबाट प्रधानमन्त्रीलाई खुला पत्र लेखियो । दिल्लीबाट यो पत्रको जवाफ आयो त्यसपछि गृह मन्त्रालयले सोनलको सुरक्षाको जिम्मा लिएको छ ।’सोनलका अनुसार गाउँमा १२ वर्षकी किशोरीलाई एकै दिनमा ३०–३५ ग्राहकसँग पठाइन्छ ।
त्यहाँ गर्भपतन त निकै सामान्य कुरा हो । कसैलाई कोही राम्री लागे आफूसँगै राख्छन् र उनको परिवारलाई हरेक महिना पैसा दिन्छन् ।
सोनल भन्छिन्, ‘थुप्रै महिलाले गाउँमा विवाह गरेपछि उक्त काम गर्दैनन् । मेरो र फूपूको घर चलाउन मैले पनि महिनामा ३० हजारसम्म कमाउने गर्थे ।’
आफ्नो गाउँका कम उमेरका किशोरीहरुले यस्तो काम गर्न नहुने उनी बताउँछिन् । ‘आफूसँग के भइरहेको छ भन्ने पनि उनीहरुलाई थाहा हुँदैन,’ उनी भन्छिन् । ‘म आफ्नो खुट्टामा उभिएपछि उनीहरुको मद्दत गर्नेछु ।


0 comments
Write Down Your Responses