यसरी बन्यो गिरानचौरमा एकीकृत नयाँ बस्ती हेर्नुस भिडियो सहित
सिन्धुपाल्चोकः ‘एउटा नागरिकले थालेको अभियानको जित भएको छ’, हास्य कलाकार धुर्मुस अर्थात् सीताराम कट्टेलले भावुक हुँदै भने । एक लाख ७४ हजार रुपैयाँ नगद लिएर तामाङ समुदायको बसोबास रहेको मेलम्ची नगरपालिकाको गिरानचौरमा एकीकृत बस्तीको अभियान थालेको धुर्मुस सुन्तली फाउन्डेसनले जग हालेको चार महिना पूरा नहुँदै आफ्नो अभियान सम्पन्न गरेको छ ।
सुरु गरेपछि सम्भव हुन्छ भन्ने लक्ष्य लिएर असार २० गते घर निर्माण सुरु गरेको धुर्मुसले बताए । ‘धेरै सहयोगी हातको योगदानले बस्ती निर्माण भएको छ’, उनले भने, ‘हामीले अपेक्षा गरेभन्दा बढी सहयोग र सद्भाव पाएका छौं ।’
बस्तीमा ६४ व्यक्तिका घर बनेका छन् । भित्रै शौचालय एवं धारासहितको चारकोठे घर निर्माण भएका छन् । सामान राख्न तला छापिएको छ । एक सामुदायिक भवन र एक पाहुना घर पनि निर्माण भएको धुर्मुसले बताए । निर्माण सुरु भएपछि आफैं कोदालो र साबेल लिएर काममा खटिएका धुर्मुसलाई पाँच हजारभन्दा बढी स्वदेशी र विदेशीले श्रमदानमा साथ दिए ।
पाँच हजारभन्दा बढी व्यक्ति र संस्थाले आर्थिक सहयोग गरे । घर बेचेर भए पनि भूकम्पपीडितलाई घर बनाइदिने उद्घोष गरेका धुर्मुसले नपत्याउनेहरूका लागि उदाहरणीय काम गरेर देखाए । ‘धेरैले अभियान थाल्दा ‘यसले सक्दैन’ भनेका थिए’, उनले भने, ‘कतिले यसले पैसा खाइदिन्छ भन्ने आरोप पनि लगाए ।’
लगनशील भएर राम्रो कामको सुरुवात गरियो भने सम्भव हुँदोरहेछ भन्ने उदाहरण बनेको उनको अनुभव छ । पाँच करोड रुपैयाँभन्दा बढी संकलित रकम बस्ती निर्माणमा खर्च भएको धुर्मुसले जानकारी दिए ।
औसत आठ लाख रुपैयाँमा बाल, अपांग, वातावरणमैत्री तथा भूकम्पप्रतिरोधी घर बनेको उनको दाबी छ । बस्तीका प्रत्येक घरमा सडक पुर्याइएको छ । चोकचोकमा पार्क र बाल उद्यान छन् ।
सार्वजनिक धारा र शौचालय पनि निर्माण गरिएको छ । प्रत्येक घरका अगाडि दुई फूल र पछाडि दुई फलफूल रोपिएको छ ।
‘छिट्टै र सहज बनेको देखिए पनि धेरै पसिना बगेको छ यहाँ’, उनले भने, ‘बर्खाले धेरै हैरानी खेलायो ।’ वैशाख १२ गते बस्तीको शिलान्यास गर्दा अधिकांश जमिन टहराले ओगटेका थिए । २९ गते जमिन सम्याउन एस्क्याभेटर ल्याउँदासमेत टहरा हटिसकेको थिएन । भग्नावशेष जस्ताको तस्तै थिए । ती सबै हटाएर जमिन सम्याएकै रात परेको पानीले घडेरी बनाएको सबै जमिन बगाएको धुर्मस सम्झिन्छन् । काम सुरु गर्न थालेपछि बर्खाले सडक बिगा¥यो । घरसँगै सडक मर्मतको जिम्मा पनि आयो । ्
‘सामान्यज्ञानमा नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ पोखरा भन्ने पढेको थिएँ, पछि थाहा भयो सबैभन्दा बढी पानी त गिरानचौरमा पो पर्दोरहेछ’, उनले ठट्टा गरे ।
घर बनाउँदा नगरपालिकाको सबै मापदण्ड पूरा गरेर विकासका सबै पूर्वाधार तयार गरिएको उनको दाबी छ । साढे आठ सय मिटर तलबाट ‘लिफ्ट’ प्रणालीमार्फत् खानेपानीको व्यवस्था गरिएको छ । विद्युत् र सडक बनेका छन् । यो बस्ती निर्माण गरेर एउटा नागरिकको हैसियतले आफूले सरकारलाई सहयोग गरेको उनले बताए । घरमा प्रयोग गरेको नीलो, रातो र सेतो रङले समेत राष्ट्रियता झल्काउने उनको भनाइ छ ।
बस्ती निर्माण मात्र उनको लक्ष्य छैन । यो बस्तीलाई पर्यटकीय नगरीमा रूपान्तरण गर्ने सपना पनि उनीसँग छ । ‘सबै घर होमस्टेका लागि उचित छन्’, उनले भने, ‘गिरानचौरलाई पर्यटकको गन्तव्य बनाएर यहाँका नागरिकको आयआर्जन बढाउनुपर्छ ।’
फिल्म सुटिङ नगरीका रूपमा पनि यो ठाउँको विकास गर्ने उनको लक्ष्य छ ।
धुर्मुस जति खुसी छन्, त्योभन्दा बढी यहाँका बासिन्दा खुसी भएका छन् । ‘अरूको घर बन्न सुरु नहुँदै हामी बस्ने बेला भइसकेको छ’, आफ्नो भागमा परेको घर सफा गरिरहेकी लक्ष्मी तामाङले भनिन्, ‘हामीले देवताका रूपमा धुर्मुस–सुन्तली पाएका रहेछौं ।’ फाउन्डेसनले बनाएको बस्तीलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले चाबी हस्तान्तरण गरेर बस्ती हस्तान्तरण गरेकी छिन् ।
बस्तीका ३ ब्लक मध्ये भण्डारीले एक ब्लक हस्तान्तरण गरिन् भने अर्को ब्लक धुर्मुस र सुन्तलीका मातापिता बोघराज कट्टेल र कमला कट्टेल तथा हरिप्रसाद घिमिरे तथा सीतादेवी घिमिरेले हस्तान्तरण गरे । शुक्रबार बस्ती हस्तान्तरण भए सँगै धुर्मुस सुन्तलीले आफ्नो एउटा अभियान सफल भएको बताएका छन् ।


0 comments
Write Down Your Responses