मान्छे जिउँदै भएको थाहा हुँदाहुँदै पनि उद्धार गर्नै सकिएन हेर्नुहोस फोटोफिचर सहित

काठमाडौँः विपद् व्यवस्थापनका लागि नेपाल प्रहरीले गठन गरेको डिल्लीबजारस्थित विपद् व्यवस्थापन महाशाखाको भवन गत वैशाख १२ को भूकम्पपछि भग्नावशेषमा परिणत भयो । त्यसबेला महाशाखाामा कार्यरत रहेका दुई प्रहरी सामान्य घाइते समेत भए ।
 उद्धारमा खट्नुपर्ने निकाय आफैँ घरविहीन भयो । महाशाखालाई सामाखुसीमा सार्ने त्यस अघि नै तयारी भए पनि भूकम्पपछि सामाखुसीमा सारियो । संयोग नै भन्नुपर्छ एक महिनाअघि मात्रै महाशाखामा विपद् व्यवस्थापनका लागि आवश्यक केही उपकरण आइपुगेका थिए । तिनै उपकरण भूकम्प उद्धार कार्यमा निकै उपयोगी भए । महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ठूले राई सीमित स्रोत र साधनकाबीच महाशाखाको टोलीलाई उद्धारमा खटाइएको बताए ।
 सुरक्षा निकायले परकम्पकै बीचमा काम गरे । भत्किएका संरचनाभित्रै जीवित्तै व्यक्ति रहेको आशङ्कामा सुरक्षाकर्मी जोखिम मोलेरै त्यस्ता संरचनाभित्र पस्थे । वरिष्ठ प्रहरी उपरीक्षक राईले त्यस बेलाको सम्झना गर्दै भने, ‘हाम्रो टोली उद्धारका लागि भत्किएका संरचनाभित्र पसेका हुन्थे । त्यति नै बेला परकम्पले हल्लाउन थालिहाल्थ्यो । धेरै नै हल्लाए बाहिर निस्किन्थ्याँै । सानातिना आए काम गरिरहन्थ्यौं ।’ बर्दियाकी कृष्णुकमारी खड्कालाई एकसय २८ घण्टापछि जीवितै उद्धार गर्ने टोली प्रहरी महाशाखाकै थियो । भूकम्पमा सबै भन्दापछि जीवित्तै उद्धार गरिएको त्यो घटनामा नेपाल प्रहरीलाई इजरायल र पोल्यान्डबाट आएको उद्धार टोलीले सघाएको थियो ।
 ‘हाम्रो मान्छे ज्यूँदै छ’ भूकम्पपछि भत्किएका घरभित्र परिवारको सदस्यको मृत्यु भएको थाहा हुँदा पनि कतिपय ठाउँमा परिवारका अन्य सदस्यले घरभित्रै आफ्नो मान्छे ज्यूँदै रहेको भन्दै सुरक्षा निकायलाई गुहार्थे । सुरक्षा निकायले शवलाई निकाल्ने भन्दा जीवित व्यक्तिको उद्धारलाई पहिलो प्राथमिकता दिएको थियो । मर्ने त मरिसके कोही ज्यूँदै छन् भने उसको उद्धारलाई आफूहरुले पहिलो प्राथमिकता दिएको वरिष्ठ उपरीक्षक राईले स्मरण गरे । उनले भने, ‘मेरो मान्छे ज्यूँदै छ । भर्खरै एसएमएस आयो भनेर झूठ बोल्थे । उनीहरु परिवारको सदस्यको शव नै भए पनि छिटो हेर्न पाउने आशामा त्यसो भनिरहेका हामीलाई थाहा हुन्थ्यो । किनकि उनीहरुले एसएमएस देखाउन सक्दैनथे ।’
 माछापोखरी र गोङ्गबु क्षेत्रमा कतिपय भत्किएका घरमा जीउँदै मान्छे छन् भन्ने थाहा हुँदाहुँदै पनि उद्धार कार्य गर्न गाह्रो भएको अनुभव उनले सुनाए । उनले भने, ‘घर भत्किएको छ । त्यो घरमाथि अर्को घर आएर अडिएको छ । उद्धारका लागि ढलान काट्न सुरु ग¥यो । त्यसको भाइबे्रसनले पूरै घर ढल्न खोज्थ्यो । अर्कोतर्फ परकम्प आइरहेको हुन्थ्यो ।’ उद्धारका क्रममा काम छिटो गरिदिन सुरक्षा निकायलाई चौतर्फी दबाब आइरहेको हुन्थ्यो । महाशाखाका कतिपय प्रहरी भावनामा बगेर समेत काम गरेको आफूले देखेको राईले बताए । धेरै हल्लाइरहँदा पनि उनीहरु बाहिर निस्कँदैनथे कराएर बाहिर निस्कन भन्नुपथ्र्यो । महाशाखा टोलीले चाहँदा चाहँदै पनि गोङ्गबुस्थित बुटवल पाल्पा गेष्टहाउसमा रहेको तीन जनाको शव झिक्न सकेन । सो गेष्टहाउस सञ्चालकका श्रीमती, छोरी र एकजना कामदार त्यहाँ पुरिएका थिए । तल्लो तलालाई माथिका दुई तला आएर थिचेको थियो ।
 त्यसैले जे गर्दा पनि सुरक्षाका कारण त्यहाँ प्रहरी छिर्न सकेन । तीन महिनापछि त्यो घर भत्काएर शव निकालियो । स्थानीय जनताको सहयोग उद्धारकार्यमा स्थानीयवासीबाट पनि उल्लेख्य सहयोग मिलेको अनुभव महाशाखा प्रमुख राईले साटे । कतिपय स्थानमा स्थानीयवासीले पहिले लिएको भूकम्पमा उद्धारसम्बन्धी आधारभूत तालिमबाट निकै सहयोग मिल्यो । त्यस्तै नगरपालिकामा काम गर्ने कर्मचारीको आधारभूत तालिमले समेत उद्धार कार्यमा सहयोग मिलेको थियो । ग्रिल उद्योगमा काम गर्ने कतिपय मजदुरले आफूहरुसँग ढलान काट्ने सामाग्री रहेको तथा त्यससम्बन्धी अनुभवसमेत रहेको भन्दै प्रहरीलाई सहयोग गर्न आएको घटनाबाट आफू निकै प्रभावित भएको अनुभव राईले सुनाए । भूकम्पपछि जनशक्ति विस्तार नेपाल प्रहरीले विसं २०६८ मा मात्रै विपद् व्यवस्थापन महाशाखा गठन गरेको थियो । भूकम्पपछि नेपाल प्रहरीले विपद् व्यवस्थापनका लागि जनशक्ति थप्दै लगेको छ । 
 महाशाखामा त्यसबेला चारसय ४६ दरबन्दी भएपनि जम्मा १७२ जना मात्रै कार्यरत थिए । ती पनि सबै काजमा ल्याइएका थिए । भूकम्पअघि ४०० मात्रै रहेको दरबन्दी अहिले बढाएर एक हजार पुगेको छ । यसमध्ये पाँचै विकास क्षेत्रमा एकसय २५ जनाका दरले ६२५ जना र बाँकी उपत्यकाको महाशाखामा रहनेछन् । दरबन्दीमध्ये अहिले आधा पूर्ति गरिएको छ भने आधा पदपूर्तिको प्रक्रिया जारी छ । पर्याप्त तयारी भएन नेपाल भूकम्पको अति जोखिममा रहेको थाहा हुँदाहुँदै पनि पर्याप्त तयारी नगरेकै कारण उद्धार तथा राहतमा समस्या भएको अनुभव छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि थालिएको उद्धार प्रयास आवश्यक उपकरण र तालिम प्राप्त जनशक्तिको अभावमा सोचेजस्तो हुन नसकी धेरै व्यक्तिले ज्यान गुमाउनुपरेको सुरक्षा निकायको विश्लेषण छ । 
 भूकम्पको नौ दिनपछि पनि नागरिकको जीवितै उद्धार भएका घटनाले यथोचित मात्रामा उद्धार व्यवस्थापनको योजना बनाउन सकेको भए अन्य धेरै व्यक्तिको जीवितै उद्धार हुनसक्थ्यो भन्ने अनुमान सहजै लगाउन सकिन्छ । भूकम्प लगत्तै आवश्यक मात्रामा हेलिकप्टर र उद्धार सामग्री उपलब्ध भएको भए थप सयौँं व्यक्तिको जीवितै उद्धार गर्न सकिने सुरक्षा निकायको विश्लेषण छ । सेना र प्रहरी गरी दुई लाखको हाराहारीमा सुरक्षाकर्मी रहे पनि विपद् व्यवस्थापन र उद्धारसम्बन्धी पूर्ण तालिम प्राप्त जनशक्ति न्यून छ । उद्धारका अत्याधुनिक उपकरण त परको कुरा, साधारण उपकरण पनि पर्याप्त मात्रामा सुरक्षाकर्मीसँग थिएनन् । डोजर, क्रेन, ट्रकजस्ता सामग्रीको लागि पनि निजी क्षेत्रको साथ लिनु परेको थियो ।
 विदेशी उद्धार टोलीले मानिस जीवित रहे÷नरहेको पत्ता लगाउने एक्सरे, पाइपजस्ता अत्याधुनिक उपकरण प्रयोग गरिरहँदा नेपाली सुरक्षा निकाय भने सूचना र अनुमानको भरमा काम गर्न बाध्य थिए । बेल्चा, कैँची, डोरी, कम्बल, आरी, पत्ति, जेनेरेटर, ढलान काट्ने पत्ती जस्ता पुराना प्रविधिको प्रयोगमा मात्रै नेपाली सुरक्षा निकाय निर्भर थिए । 
उपकरणसहितको गाडी ‘डिजास्टर भ्यान’ नेपाली सुरक्षाकर्मीसँग छैन । भूकम्पपछि भने अहिले सुरक्षा निकायले ठूलो मात्रामा त्यस्ता सामग्रीको खरिद प्रक्रिया अगाडि बढाएको छ । भूकम्पमा आफैं घरबारविहीन भई पालको सहारामा रहेका सुरक्षाकर्मीले उद्धारमा देखाएको सक्रियताको चौतर्फी प्रशंसा भयो । उद्धारमा देखिएको कठिनाइपछि विपद् व्यवस्थापन मन्त्रालय गठन गर्ने देखि विपद् व्यवस्थापनको छुट्टै सुरक्षा फौज बनाउनुपर्नेसम्मका बहस चाहिँ अहिले सुरु भएको छ । रासस

, ,

0 comments

Write Down Your Responses