सातौँ इपिएस कोरियन भाषा परीक्षामा नक्कली परीक्षार्थीहरुको विगविगी ८८ जनालाई पक्राउ

काठमाडौं– रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षामा सहभागी हुन आएका ८८ जना नक्कली परीक्षार्थीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । आइतबार पहिलो सिफ्टमा भएकोे उक्त परीक्षामा काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट ११ जना र ललितपुरबाट १० जना गरी २१ जनालाई तथा दोस्रो सिफ्ट काठमाडौँबाट ३८ जना पुरुष ,१ महिला र १ जना बिचौलिया सहित ५७ जना तथा ललितपुसरबाट १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
 यसअघि शनिबारको परीक्षामा पनि ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् ।
 यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् । आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका छन् ।

, ,

0 comments

Write Down Your Responses