पुरानो बसपार्कमा बन्न लागेको २९ तले काठमाडौं भ्यूटावर टावर निर्माण सुरु यसरी रुप फेर्दैछ पुरानो बसपार्कले हेर्नुस भिडियो सहित

१६ असार, काठमाडौं । कामाडौंको पुरानो बसपार्कमा बन्न लागेको २९ तले ‘काठमाडौं भ्यूटावर’ को निर्माण कार्य सुरु भएको छ । निर्माता कम्पनी जलेश्वर-स्वच्छन्द बिकोइ कम्पनीले निर्माण सुरु गरेको हो । अत्याधुनिक सुविधासहित बन्न लागेको टावरको निर्माणका लागि जग खन्ने काम प्रारम्भ भएको छ । टावरको गत कात्तिक महिनामै उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए ।

 टावर निर्माणका लागि भारतबाट अत्याधुनिक निर्माण उपकरण आइपुगेलगत्तै कम्पनीले पुरानो बसपार्कमा काम सुरु गरेको काठमाडौं महानगरपालिकका सूचना अधिकारी महेश काफ्लेले अनलाइनखबरलाई जानकारी दिए । टावर निर्माणका लागि झण्डै २ महिनाअघि नै पुरानो बसपार्कलाई खुलामञ्चमा सारिएको थियो । तर, भारतबाट समयमै उपकरण नआएपछि काम अघि बढ्न सकेको थिएन । ‘बुधबार राति भारतबाट आवश्यक उपकरणहरु आएका छन्’ काफ्ले भने-‘त्यसलगत्तै त्यसको परीक्षण प्रयोग गर्दै टावर निर्माणका लागि काम सुरु भएको छ ।’

अबको तीन वर्षभित्र काठमाडौं टावरले आफ्नो डिजाइनअनुरुपको स्वरुप पाउनेछ । त्यसपछि निर्माण कम्पनीले २७ वर्ष सञ्चालन गरेर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नेछ। हरेक विकसित शहरको पहिचानका लागि एउटा भ्युटावर पहिचानका रुपमा स्थापना गर्ने अन्तर्राष्ट्रिय अभ्यास अनुरुप यो टावर बनाउन लागिएको हो ।टावरको डिजाइन इञ्जिनियर विष्णु पन्थीले गरेका हुन् । १ सय ३१ मिटर उचाइको टावर २९ तला अर्थात १ सय ३१ मिटर अग्लो हुनेछ । अत्याधुनिक बस टर्मिनलसहित निर्माण हुने टावरमा होटल, रेष्टुरेन्ट, फिटनेश हल, सेमिनार हल, सिनेमा हल, स्वीमिङ पुल, सपिङ सेन्टरहरु रहनेछन् । यसमा झण्डै ८ हजारभन्दा बढी नेपालीले रोजगारी पाउने अपेक्षा गरिएको छ ।अहिलेसम्म टावरको १२ तला मात्रैको नक्सा पास भएको छ । 

बाँकी १७ तलाको नक्सा पासका लागि शहरी वस्ती विकास मापदण्डलाई परिमार्जन गर्ने तयारी छ । भूकम्पपछि लागू भएको मापदण्डले शहरी क्षेत्रमा निर्माण हुने टावरहरु १२ तलामा भन्दा माथिको बनाउन रोक लगाएको छ । तर, भूकम्पप्रतिरोधी शहरी टावरहरु निर्माण गर्दा २९ तलासम्म निर्माण गर्न सकिने गरी मापदण्ड संशोधन गर्न स्थानीय विकास मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ । अहिले पास भएको नक्साकै आधारमा निर्माण अघि बढाउने र ६ महिनाभित्रै डिपीसीको काम सक्ने निर्माण कम्पनीको लक्ष्य छ । २३ रोपनी जग्गा रहेको पुरानो बसपार्कको ४० प्रतिशत भू-भाग टावरले ओगट्ने छ । ६० प्रतिशत भाग खुला रहनेछ । भवनमा ईटाको प्रयोग नगरी क्रंक्रिट र स्टिलको मात्रै प्रयोग गर्ने निर्माण कम्पनीले जनाएको छ ।काठमाडौं टावर दुई चरणमा निर्माण हुनेछ । पहिलो चरणमा १२ तलाको भवन बनाउन महानगरले स्वीकृति दिएको छ । पहिलो चरणको काम ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणको काम सुरु हुनेछ । 

 टावर निर्माणका लागि ६ देखि ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुई वर्ष अगाडि नक्सा तयार पार्दा ५ अर्बको अनुमान गरिएको थियो । अहिले बजार भाउ बढेको हुँदा २ अर्ब थपिने अनमान गरिएको हो । टावरमा तीन तला पार्किङ हुनेछ । अन्डरग्राउन्ड र बेसमेन्टमा बसहरु पार्किङ गरिनेछ भने माथिल्ला दुईतलामा साना गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरिनेछ । यसले गर्दा अहिले भइरहेको बसपार्क मासिने छैन र अझ अत्याधुनिक हुनेछ ।पार्किङभन्दा माथिको भाग व्यावसायिक प्रयोजनमा लगाइने छ । टावरको २० तलामाथि स्वीमिङ पुल हुनेछ । यसका साथै मल्टिप्लेक्स सिनेमा हल, होटल, रेष्टुरेन्ट तथा गेमिङ जोन पनि हुनेछन् । सबैभन्दा माथिको भाग दृश्यावलोकनका लागि छुट्याइने भएको छ । उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुँदा टावरमा आन्तरिक तथा वाह्य पर्यटनको केन्द्र बन्ने अपेक्षा गरिएको छ । साथै यसले काठमाडौंको सौन्दर्यसमेत बढाउने दाबी महानगरपालिकाको छ ।

, ,

0 comments

Write Down Your Responses