यसरी आफ्नै पत्नीको ब्ल्यू फिल्म बनाएर किन बदला लिए त ? हेर्नुस भिडियो सहित
काठमाडौं, २४ जेठ । करिब सात वर्षअघि अस्ट्रेलियाको भिसा लागेपछि नवलपरासीका युवराज अधिकारी ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा अस्ट्रेलिया लिएर गए ।
अस्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे । करिब दुई वर्षको अस्ट्रेलिया बसाइपछि सम्बन्धमा दरार आउन थाल्यो । दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
युवराज नेपाल फर्किनुपर्ने भयो । उनी मन नहुँदा–नहुँदै नेपाल फर्कन बाध्य भए । जसका कारण पूर्वपत्नीमाथि प्रतिशोध लिने निर्णयमा पुगे ।
आफैँले भिडियो खिचेर प्रतिशोध
पूर्वश्रीमतीकै कारण उनले अस्ट्रेलिया छाड्नुपरेको थियो । त्यसको बदला लिन उनले फेसबुक र पोर्नसाइट (अश्लील भिडियो राखिने वेबसाइट) रोजे ।
सम्बन्ध राम्रो भएका वेला उनले श्रीमतीलाई थाहै नदिई केही गोप्य भिडियो खिचेका थिए । तिनै भिडियो उनले पोर्नसाइटमा अपलोड गरिदिए । उनी त्यतिमा मात्र रोकिएनन्, पूर्वपत्नीको नाममा नक्कली फेसबुक आइडी बनाएर त्यसबाट उनले सेयर गरे । फेसबुकमा अश्लील भिडियोका लिंक सेयर भएपछि त्यो भइरल भयो ।
त्यो खबर युवराजकी पूर्वपत्नीले पनि आफ्ना साथीमार्फत थाहा पाइन् । र, युवराजलाई फोन गरेर सोधखोज गरिन् ।
तर, आफूलाई केही थाहा नभएको बताएर उनी पन्छिए । पोर्नसाइटमा अश्लील भिडियो राखिएको कुरा नेपालमा रहेका परिवारजनले पनि थाहा पाए ।
त्यसपछि उनीहरू महानगरीय अपराध महाशाखामा उजुरी गर्न पुगे । महानगरीय अपराध महाशाखाले विस्तृत अनुसन्धान गर्दा युवराजले नै पोस्ट गरेको खुल्यो ।
प्रहरीले उनलाई शुक्रबार उनी पक्राउ गर्यो । प्रहरीले युवराजमाथि आइतबार विद्युतीय कारोबार ऐनअनुसार अदालतमा म्याद थप गरी कारबाही अघि बढाएको छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार प्रतिशोधकै लागि उनले पूर्वपत्नीसँगका अश्लील भिडियो र फोटो पोस्ट गरेको खुलेको छ ।
चार वर्षअघि पनि त्यस्तै हर्कत
करिब चार वर्षअघि पनि युवराजले ती भिडियो पोर्नसाइटमा हालेका थिए । त्यसवेला भिडियो हटाएपछि उनीहरूबीच विवाद मिलेको थियो । गत महिना फेरि भिडियो पोर्नसाइट र फेसबुकमा आएपछि पीडित परिवार प्रहरीमा उजुरी गर्न पुगेको थियो ।
अनुसन्धानका क्रममा युवराजले पूर्वपत्नीकै कारण अस्ट्रेलिया छाड्नपरेकाले बदला लिन भिडियो अपलोड गरेको बयान प्रहरीलाई दिएका छन् । तर, पीडित परिवारले भने आपराधिक गतिविधिमा संलग्न भएकाले युवराजलाई अस्ट्रेलियन सरकारले डिपोर्ट गरेको दाबी गरेको छ ।
अस्ट्रेलियाबाट फर्केर केही समय भारत बसेका युवराजले नेपाल आएर तीन महिनाअघि मात्र विवाह गरेका छन् । प्रेम–सम्बन्धमा विवाद भएपछि पछिल्लो समय फेसबुक तथा पोर्नसाइटहरूमा भिडियो र फोटो राखी प्रतिशोध लिने–बार्गेनिङ गर्ने घटना बढेका छन् । त्यस्ता उजुरी प्रहरीमा बढ्न थालेको छ ।
साइबर क्राइमका थप दुई घटना
घटना – १
मन पराएकी युवतीको फेसबुकमार्फत बिहे भाँड्न खोज्ने एक युवक महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
इलामका मार्विन मगरलाई तीन साताअघि अपराध महाशाखाले पक्राउ गरेको हो । बिहे भाँड्न उनले युवतीले आफूसँग खिचेका तस्बिर पोस्ट गरी चरित्र हत्या हुने खालका स्टाटस फेसबुकमा लेखेका थिए ।
घटना – २
पूर्वप्रेमिकाकै गोप्य तस्बिर पोस्ट गरेको आरोपमा विशाल कारजित राई पनि प्रहरी हिरासतमै छन् । उनले पनि पूर्वप्रेमिकाको नाममा नक्कली फेसबुक आइडी बनाई उनका तस्बिर पोस्ट गरेका थिए । तर, उक्त घटना भने गम्भीर नभएकाले प्रहरीलाई उनलाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ ।
दैनिक १० उजुरी
साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखामा यससम्बन्धी दैनिक १० वटा उजुरी पर्छन् । ‘९० प्रतिशत फेसबुकसम्बन्धी उजुरी हुन्छन्,’ साइबर सेलका डिएसपी पशुपति रायले भने, ‘कतिपयले नजानेर तर कतिपयले अरूलाई दु:ख दिने नियतले यस्तो अपराध गरेको देखिन्छ ।’
धेरैजसो साइबर क्राइम प्रेमसम्बन्धसँग विवादबाट जन्मिने गरेको पाइएको छ ।
कतिपयले ब्लाकमेलिङका लागि समेत सामाजिक सञ्जालको दुरुपयोग गर्ने गरेको प्रहरीको भनाइ छ । साइबर अपराधको सजायबारे जानकारी नहुँदा पनि कतिपयले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् ।
केही विद्युतीय कारोबार ऐनअनुसार तीन वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । ‘धेरैजसो घटना छलफलबाट मिल्ने गरेको छ,’ डिएसपी रायले भने, ‘गम्भीर प्रकृतिका घटनामा प्रहरीले पक्राउ गरी मुद्दा चलाउने गरेको छ ।’


0 comments
Write Down Your Responses