अब एसएलसीमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न मिल्ने ? हेर्नुहोस तालिकासहित पुरा पढ्नुहोस

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा प्रकाशित गरेको छ । ग्रेडिङ प्रणाली लागू भएपछि सार्वजनिक गरिएको पहिलो र एसएलसीको अन्तिम परीक्षाफल हो । बिहिबार प्रकाशित नतिजा अनुसार उच्च माध्यमिक शिक्षा परिषदले कुन ग्रेड ल्याउने विद्यार्थीले के विषय पढ्न पाउने भन्ने तोकिदिएको छ। 
यसअनुसार परिषदले विभिन्न १२ विषयमा औसत ग्रेड प्वाइन्ट (जिपिए) तोक्दै कक्षा ११ मा भर्ना हुन कुन विषयका लागि कति ग्रेड र ग्रेड प्वाइन्ट चाहिन्छ भनी सार्वजनिक गरेको छ। विज्ञान विषय पढ्न कम्तीमा गणित र विज्ञानमा ‘सी–प्लस’, अंग्रेजीमा ‘सी’ र सामाजिक शिक्षा तथा नेपालीमा ‘डी–प्लस’ आवश्यक पर्छ । विज्ञानका लागि चाहिने न्यूनतम ग्रेड प्वाइन्ट २ हो । यसमा भौतिक, रसायन, जीव, गणित, कम्प्युटर साइन्स रहेकाे छन् । यसैगरी प्राविधिकतर्फका जीव विज्ञान, वनस्पति विज्ञान, इलेक्ट्रोनिक, सिभिल र कम्प्युटर इन्जिनियरिङ पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी तथा सामाजिक र नेपालीमा डी–प्लस ल्याउनुपर्छ।
 शिक्षा परिचय, शिक्षणविधि, जनसंख्या शिक्षा, वातावरण शिक्षा पढ्न जनसख्या तथा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा ‘सी तथा नेपाली, अंग्रेजी र विज्ञानमा डी-प्लस ग्रेड प्राप्त गर्नुपर्छ। त्यस्तै अर्थशास्त्र, बिजनेस म्याथ, भूगोल र मनोविज्ञान पढ्न गणितमा सी ग्रेडका साथै अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी–प्लस ग्रेड ल्याउनुपर्छ। अंग्रेजी विषय पढ्न अंग्रेजीमा सी ग्रेड तथा नेपाली र सामाजिकमा डी–प्लस ल्याउनुुपर्छ । आमसञ्चार तथा पत्रकारिता, होटल म्यानेजमेन्ट र ट्राभल एन्ड टुरिज्म पढ्न अंग्रेजीमा सी ग्रेड तथा नेपाली, गणित र सामाजिकमा डी–प्लस ल्याउनु पर्छ। नेपाली विषय पढ्न चाहनेले नेपालीमा सी ग्रेडका साथै अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड हासिल गरेको हुनुपर्छ। 
उच्चमाध्यमिक विद्यालयको व्यावसायिक संकायमा पढ्न चाहनेले विज्ञान, अंग्रेजी र गणितमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ। सिटिइभिटीले भने ‘सी’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरेको शिक्षासचिव विश्वप्रकाश पण्डितले बताएका छन्। सिटिइभिटीले अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको हो। यसका साथै उसले ‘डी’ र ‘ई’ ल्याउनेलाई तालिमको अवसर दिने जनाएको छ। 
सरकारले हालै शिक्षा ऐनमा आठौँ संशोधन गरेर कक्षा १२ सम्मलाई माध्यामिक शिक्षा बनाएपछि आगामी वर्षदेखि एसएलसी परीक्षा नहुने भएको हो । शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले शिक्षा नीतिमा परिवर्तन गरेका कारण अर्को वर्षदेखि एसएलसी परीक्षा भनेर सञ्चालन नहुने बताए। उनले एसएलसीलाई अब राष्ट्रिय परीक्षा बोर्डमा समाहित हुने बताए ।

, ,

0 comments

Write Down Your Responses