कसले जित्ला त आज युराेकप उपाधि ? अाजराति अायाेजक फ्रान्स र पोर्चुगल भिड्दैँ

काठमाडाैँ : फ्रान्समा जारी युरोकप २०१६काे उपाधिका लागि अाजराति आयोजक फ्रान्स र पोर्चुगल भिड्दैँ छ । नेपाली समयअनुसार खेल सोमबार बिहान पौने एक बजे हुँदैछ। उपाधिका भिडन्तमा रहेका छन्, आयोजक फ्रान्स र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल । फ्रान्सको फाइनल यात्रा जति स्वभाविक र अपेक्षित मानिएको छ, पोर्चुगलले तय गरेको बाटोलाई उत्तिकै मानिएको छैन । 
 यसअघि आठ पटक युरोकपमा सहभागिता जनाउँदा दुई पटक च्याम्पियन बनेको फ्रान्स तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको रेकर्ड बराबरी गर्ने तयारीमा छ। यता दोस्रो पटक फाइनल पुगेको पोर्चुगल पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ। फ्रान्स मेहनत गरेर फाइनल पुगेको टाेली हो । पोर्चुगललाई भने भाग्यले साथ दिँदै आएको छ । प्रतियोगिताका क्रममा अहिलेसम्म जति पनि खाले मोड र समीकरण बने र भत्के, त्यो आधारमा फाइनलमा फ्रान्सकै सम्भावना बलियो मान्न सकिन्छ । फ्रान्स सन् २००० मा दोस्रो पटक उपाधि जितेको १६ वर्षपछि फाइनल पुगेको हो। 
यसक्रममा अपराजित रहेको फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २–० ले हराएको थियो। घरेलु मैदानमा शानदार इतिहास रहेको फ्रान्स यसपटक पनि उक्त लयलाई निरन्तरता दिने योजनामा छ। फ्रान्सले सन् १९८४ मा दोस्रो पटक युरो आयोजना गर्दा पहिलो पटक उपाधि जितेको थियो। यस्तै सन् १९९८ मा घरेलु मैदानमै भएको विश्वकप पनि फ्रान्सले जितेको थियो। यता सन् २००४ मा घरेलु मैदानमै भएको युरोकपमा फाइनल पुगेपनि पोर्चुगल उपविजेतामै सिमित रह्यो। पोर्चुगल उपाधि भिडन्तमा ग्रिससँग पराजित भएको थियो। १२ वर्ष पछि युरोकपको फाइनल पुग्ने क्रममा पोर्चुगलले सेमिफाइनलमा वेल्सलाई २–० ले हराएको थियो। समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको पोर्चुगल समूहको तेस्रो स्थानमा थियो। तर ६ वटा समूहको तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चार भित्र पर्दै पोर्चुगल नकआउट चरणको लागि छनोट भएको थियो। सेमिफाइनल आइपुग्दासम्म पोर्चुगल निर्धारित ९० मिनेटमा कुनै पनि खेल जित्न सकेको थिएन। क्रोएसिया विरुद्धको प्रिक्वाटरफाइनल अतिरिक्त समयमा जितेको पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्डलाई पेनाल्टीसुटआउटमा हराएको थियो। तर वेल्सलाई भने पोर्चुगलले निर्धारित समयभित्रै पराजित गरेको थियो। फ्रान्सकाे सबैभन्दा ठूलो भूमिका खेल्न सक्ने खेलाडी हुन्, लयमा रहेका एन्टोन ग्रिजमन । उनी प्रतियोगिताका अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुन् । फ्रान्सले उत्तरी आयरल्यान्ड, आइसल्यान्ड र जर्मनीहलाई हराउँदा उनी सबै विरुद्ध गोल गरेका छन् ।
 उनले अहिलेसम्म छ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा अगाडि छन् । त्यसैले यी २५ वर्षीय खेलाडी प्रतियोगिताकै उत्कृष्ट खेलाडी र गोल्डेन बुट अवार्डका सबैभन्दा राम्रा प्रत्यासी पनि बनेका छन् । त्यस्तै पाेर्चुगलकाे अहिलेको विश्व फुटबलका सबैभन्दा ठूला स्टार रोनाल्डो रहेका छन् । उनी ठूलो अवसरमा राम्रो खेल्न सक्ने क्षमता भएका खेलाडी हुन् । रोनाल्डोले वेल्सविरुद्धको खेलमा निर्णायक गाेल गरेका थिए । उनकै हेड गोलको मद्दतले पोर्चुगलले वेल्सलाई हराएको आधार तयार भएको थियो । खेल तालिका खेल हुने समय : मध्यराती १२ः४५ बजे खेल हुने स्थान : सेन्ट डेनिस, पेरिस हेर्नलायक खेलाडी : क्रिस्टियानो रोनाल्डो पोर्चुगल, 
एन्टोनी ग्रिज्मन फ्रान्स हेड टु हेड : पोर्चुगल ५, फ्रान्स १८, बराबरी १ युरो सहभागिता : पोर्चुगल ७, फ्रान्स ९ फिफा वरियता : पोर्चुगल ८, फ्रान्स १७ मुख्य उपलब्धी : पोर्चुगल उपविजेता २००४ फ्रान्स विजेता सन् १९८४, २००० फाइनल खेलका रेफ्रि टीम रेफ्रि : मार्क क्लाटेनवर्ग इंगलयाण्ड असिस्टेन्ट : सिमोन बेक, जेक कोलिन, इंगल्याण्ड एडिसनल असिस्टेन्ट : एन्तोनी टेलर, आन्द्रे मारिनर, इंगल्याण्ड फोर्थ अफिसियल : भिक्टोर कसाई, हंगेरी रिजर्भ असिस्टेन्ट : ग्योर्जी रिङ, हंगेरी

, ,

0 comments

Write Down Your Responses