यसरी बाढी र पहिरोले मृत्यु हुनेको संख्या ३४ पुग्यो हेर्नुस फोटोफिचर सहित
१२ साउन, प्यूठान । प्यूठानमा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । ६ जना अझै वेपत्ता छन् । सबैभन्दा धेरै फोप्ली गाविसमा २४ जनाको मृत्यु भएको छ ।
बुधवार विहान गएको पहिरोमा पुरिएर फोप्ली ६ सिममा ७ जनाको मृत्यु भएको छ । हरिबहादुर केसी र उनकी श्रीमती विन्दु, द्रोणबहादुर केसी र उनकी श्रीमती पवित्रा, जागेश्वर बुढाथोकी र उनकी श्रीमती पिमा र नारायण केसीको मृत्यु भएको छ ।
घटनास्थलबाट नानुमैया केसी र भिमसेन पुनलाई सकुशल उद्धार गरिएको छ । नानुमैयाको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनलाइनखबरसँग भने, ‘बुधबार साँझ सात बजेसम्म प्राप्त विवरणअनुसार मृतकको संख्या ३४ पुगेको छ। खोज तथा उद्धार जारी छ ।’
अर्खा गाविस ३ मा वेपत्ता भएका एकै परिवारका तीन जनाको दुई दिन पछि शव फेला परेको छ । देवबहादुर बुढा, उनका छोरा हिमाल र छोरी जमुनाको शव फेला परेको हो ।
दुई दिन गरी फोप्ली गाविसमा मात्र २४ जनाको मृत्यु भैसकेको छ । झिमरुक खोलाले बगाएको शव पनि फोप्लीबासीकै रहेको खुलेको छ ।
ज्यान गुमाउनेहरुमा कुमारी पुन, चेतीमा पुन, नन्दी पुन, मने पुन, प्रकृति पुन, सागर पुन, सेमली पुन, नोखी बैजाली, छमी पुन, धने पुन, मनीराम पुन, तेजे पुन, खोप्ली पुन, सेतनु पुन, सेरे पुन, ८ महिना र ११ महिनाकी दुई बालिका रहेको कांग्रेस प्यूठानका कोषाध्यक्ष एवं स्थानीयबासी धनेश्वर भण्डारीले जानकारी दिए ।
लुङ ६ सिमलबुटामा घर पहिरोमा भासिँदा शिवबहादुर सुनार, पुँजा १ मा रजवारा ३ का सुपारी मल्ल, मुकेश मल्ल, खवाङ ३ मा सिवरे विक, दिपक विक र खवाङ ७ का दिलमाया केसीको ज्यान गएको छ ।
माझकोटकी काली पुनको जुम्री खोलाले बगाएर मृत्यु भएको छ ।
पहिरोले घर भत्किँदा पुरिएका लुङ ६ की शोभा रिजाल, किरण थापा र काली परियारको अवस्था अज्ञात छ । यसैगरी फोप्लीका लिला पुन र भुपे घर्ती तथा खवाङका दोमन्ती विकको अवस्था पनि थाहा हुन सकेको छैन ।
प्रारम्भिक राहत वितरण शुरु
बाढी पहिरोबाट घरबारविहीन भएकाहरुलाई प्रारम्भिक राहत वितरण शुरु गरिएको छ ।
बुधवार बिहान बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयमा फोप्ली, लुङ र अर्खामा राहत विरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्यूठान मार्फत त्रिपाल, भाडाकुडा, लत्ता कपडा, जीवनजल, गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा प्यूठान मार्फत नुन, तेल, दाल, चिउरा र प्यूठान उद्योग वाणिज्य संघ मार्फत चामल वितरण गरिएको छ ।
त्यस्तै मृतकका परिवारहरुलाई जिल्ला विकास समिति मार्फत नगद तीन हजार र जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत पाँच हजार रुपैयाँ वितरण गरिएको छ । राहत सामाग्री ढुवानीका लागि स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानले सहयोग गरेको छ ।
पहिरोका कारण अवरुद्ध सडक नियमित सञ्चालन गर्ने निर्णय भएको समेत प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
प्यूठानका नेता एकजुट, सहयोग संकलन जारी
यसैबीच प्यूठानमा निर्वाचित एवं जिल्लाका राजनीतिक दलका नेताहरुले घटनाप्रति दुःख व्यक्त गर्दै खोज तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौंमा मंगलबार बसेको प्यूठानका नेताहरुको बैठकले एमाले उपाध्यक्ष एवम् सांसद बामदेव गौतमको संयोजकत्वमा सहयोग समिति गठन गरेको छ ।
समितिले प्रधानमन्त्री केपी शर्मा ओली, गृह तथा रक्षा मन्त्री भिम रावललगायतलाई भेटेर खोज तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिले सञ्चालन गरेको सहयोग संकलन अभियानमा हालसम्म १ लाख ५० हजार रकम जम्मा भएको गौतमका स्वकीय सचिव विजयविराज विष्टले जानकारी दिए ।


0 comments
Write Down Your Responses