तपाईका बच्चाले यदी खानै मान्दैनन् ? अब यसो गर्नुहोस्
मेरा छोराछोरीले त खाना खानै मान्दैनन्, दुब्लाएर टाट भैसके, के गर्ने ? उनीहरुलाई त चक्लेट र आइसक्रिम मात्र भए पुग्छ ।’ धेरै बाबुआमाहरुले यस्तो गुनासो गरेको सुनिन्छ । उनीहरु आफ्ना केटाकेटीहरुमा खानासम्बन्धी समस्या उत्पन्न भएको अनुभव गर्छन् । तर, वास्तवमा समस्या केटाकेटीमा होइन आमाबाबुको बानीब्यहोरामा छ । जबसम्म बाबुआमाले आफ्नो बानीब्यहोरा सुधार गर्दैर्नन् तबसम्म केटाकेटीको खानासम्बन्धी बानीब्यहोरा सुधार गर्न सकिंदैन ।
प्राय: बाबुआमाहरु आफ्ना केटाकेटीले पौष्टिक खानेकुरा खाऊन्, स्वस्थ रहून् भन्ने चाहना राख्छन् तर चाहनाअनुसार गर्दैनन् र केटाकेटीको खाने बानी क्रमश: बिग्रिदै जान्छ। प्राय: मानिसमा अरुले आफूलाई ध्यान दिऊन् भन्ने चाहना हुन्छ। बालबालिकामा त झन् यो चाहना बढी हुन्छ । बालबालिकाहरुले खानासम्बन्धमा पनि यस्तै गरेका हुन्छन् । गाउँघरका केटाकेटीहरुले प्राय: घरमा जे पाक्छ अरुसरह नै खाएका हुन्छन् । ३–४ वर्षका बालबालिकाले त भान्छामा सँगै बसेर आफैं भात पनि खान्छन् ।
सहरतिर भने प्राय: आमाहरुले केटाकेटीलाई घरको खानेकुरा पौष्टिक हुँदैन भनेर भात वा पीठोबाट बनाइएका खानेकुरा दिन छोडेर बट्टामा भएका खानेकुराहरु दिन्छन् । यी खानेकुरा पनि प्राय: चामल वा गहुँको पीठोबाट बनाइएको हुन्छन् । यसमा चिनी मिसाएर गुलियो पारिएको हुन्छ । यसलाई बालबालिकाले बढी मन पराउने भएकोले यी खानेकुराहरु घरमा त्यही चीजबाट बनाइने खानेकुराभन्दा २० गुणासम्म बढी महँगा हुन्छन् तर पौष्टिकताचाहिँ २० गुण कम नै प्राप्त हुन्छ । यसरी बालबालिकामा चिनी हालेको खानेकुराको स्वाद बसिसकेपछि स्वत: चिनी नहालेको खानेकुरामा रुचि कम हुँदै जान्छ ।
अनि एक/दुई वर्षको हुँदा त उसको घरको खानाको परम्परा नै बिग्रन थाल्छ। उनीहरुको यो प्रवृत्तिलाई हतोत्साही गर्नुको सट्टा परिवारका सदस्य वा साथीहरुसँग ‘यसले त घरको खाना खाँदैन, बजारबाट नै किनेर ल्याउनुपर्छ’ भनेर उसैलाइ प्रोत्साहन दिने काम भइरहेको हुन्छ ।
बालबालिका मेरो विषयमा कुराकानी भइरहेको छ र मेरो खानाको विषयमा घरपरिवार चिन्तित छन् भन्ने विचार गर्दै आफूलाई महत्त्व दिएकोमा गर्वको महशुस गर्छन् र त्यहीअनुसार झन्–झन् फुकंर्दै जान्छन्, बानी बिगार्दै जान्छन् ।
‘यसले त हरियो साग मनै पराउँदैन, दाल खाँदै खाँदैन, आलु मात्र खान्छ, मेरो ७ वर्षीया छोरीले त फलफूल खान्न भन्छे, चक्लेट दियो भने मात्र खुसी हुन्छे, मेरो छोराले त जाउलो, खिचडी, रोटी त छ्या भन्छ, प्याकेटको चाउचाउ खाजामा नभई स्कुल नै जान्न भन्छ । चिप्स र पिज्जा नभई मेरो बच्चा त पढ्नै मान्दैन,’ यस्ता कुरा खुब सुनिन्छन् ।
घरपरिवार बजारमा हिँड्दा, पार्टी, भोज, विवाह समारोहमा महिलाहरुले कुरा गरेको सुनेका प्रसंग हुन् ।
बालबालिकादेखि लिएर किशोरकिशोरीहरुले पनि सडक, बजार, स्कुल, क्याम्पस, पिकनिकमा विभिन्न थरीका चाउचाउ र चिप्सका प्याकेट लिएर मजा लिंदै खाएको देखिन्छ ।
यसरी पौष्टिक तत्त्व बढी भएका तथा घरमै बनाएका खानलाई महत्त्व दिनुको सट्टामा कम पोषक तत्त्व भएका खानालाई बढी महत्त्व दिने कार्यमा सञ्चारमाध्यमहरुमा आउने विज्ञापनको ठूलो भूमिका रहेको छ । सबभन्दा ठूलो भूमिकाचाहिँ बाबुआमाकै हुन्छ । पौष्टिक खाना खुवाउने बानी गराउनका लागि पनि मुख्यतया बाबुआमाकै भूमिका हुन्छ । यसका लागि बालबालिकालाई घरको दालभात, तरकारी खाजा ख्वाउन सानैदेखि प्रेरित गर्नुपर्छ । जब उनीहरुलाई ठोस खाना ख्वाउन सुरु गरिन्छ तब बाहिरको खानेकुराको सट्टामा घरमा बनेका खानेकुरा नै ख्वाउनुपर्छ ।
७–८ महिनाको बच्चालाई लिटो, घरमा बनाइएका फलफूलको रस (चिनी नहाली), तरकारी, दालको झोल आदि खुवाउन सुरु गर्नुपर्छ । यस्तो बेलामा सुरु–सुरुमा शिशुहरुले खान गाह्रो मान्ने, बिस्तारै खाने आदि हुन्छ । तर, यसका लागि घरका मानिसमा धैर्यता हुनुपर्छ । बच्चाले खान मानेन भनेर गुलियो हालिदिने वा बजारबाट ल्याएका प्याकेटका खानेकुरा दिइयो भने त उनीहरुको बानी बिग्रिदै जान्छ ।
‘बजारका खानेकुरा नदिएर के गर्ने हो, लौन कसरी काम चलाउने होला’ भन्ने खालका बिचार गर्ने बाबुआमाले के बिर्सनु हुँदैन भने आजभन्दा ३०–४० वर्षअगाडि हाम्रो देशमा प्याकेटका खानेकुरा र बट्टामा बन्द महँगो गहुँ र चामलको पीठो नआउँदा घरमा बच्चाहरुलाई लिटो, जाउलो आदि बनाएर ख्वाउने गरिन्थ्यो र उनीहरु स्वस्थ पनि हुन्थे । त्यसैले स्वस्थताका लागि बजारका महँगा खाना नै चाहिन्छ भन्ने छैन ।
शिशुलाई विज्ञापनको भरमा नपारेर घरमै बनाएको खानेकुरा दिनमा जोड दिनुपर्छ । बालबालिकाले खानेकुरा खान समय लगाउँछन् भनेर जबरजस्ती कोच्याउने बानी गर्यो भने पछिसम्म पनि उनीहरुलाई ख्वाउने बानी बस्छ । कतिपय घरमा त १२–१३ वर्षको हुँदासम्म आमा, दिदी, बज्यै वा घरमा राखेका सहायक वा सहायिकाले खुवाएको पनि देखिन्छ ।
सानैदेखि बच्चाले हरियो तरकारी थुक्ने, दाल देखे नाक खुम्च्याउने आदि गर्दा धेरै मानिस यस्तो देखेर हाँस्ने गर्छन् ।
बालबालिका त रमाइलो भयो होला भन्ने विचारले झन्–झन् यो प्रक्रिया दोहोर्याउाछन् । उनीहरुको बानी नै यस्तै हुँदै जान्छ। त्यसैले घरमा भएका खानेकुरा खान दिने गर्दा खाना थुक्ने, नाक खुम्च्याउने बानीलाई बढवा नदिने र खानेकुरा थुक्दा पहिलेदेखि नै त्यसो गर्न हुँदैन भन्ने कुरा शब्दमा व्यक्त गर्नुपर्छ । सानैदेखि यस्ता बानी–व्यवहारलाई रोकेपछि धेरै समस्या कम हुन्छ । जसले गर्दा बालबालिकालाई अनावश्यकरुपमा बजारका महँगा तर कम पोषण भएका खाना खाने बानी लाग्नबाट बचाउन सकिन्छ र उनीहरुलाई कुपोषण हुने समस्याबाट पनि जोगाउन सकिन्छ ।


0 comments
Write Down Your Responses