साझाका २५ बस रक्सौल आइपुगे यस्ता छन् नयाँ सुविधा सहितको बस

काठमाडौं महानगरपालिकाको सेयर लगानीमा साझा यातायातले भित्र्याउन थालेका ३० बसमध्ये २५ वटा रक्सौल नाकामा आइपुगेका छन्। भन्सारनिकट स्रोतका अनुसार ति बस भन्सारमा प्रक्रिया पुरा गरी केही दिनमै काठमाडौं भित्रिने छन्। बाँकी ५ वटा बसहरु दोस्रो चरणमा चाँडै नै आउने भएका छन्। ति बसहरु उपत्यकामा आइसकेपछि अशोक लेल्याण्ड कम्पनीले साझालाई हस्तान्तरण गर्नेछ। साझा यातायातका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले अशोक लेल्याण्डले नयाँ बसहरु साझालाई हस्तान्तरण गरेपछि असोज महिनाभित्रै उपत्यकामा संचालन गर्ने तयारी भएको बताए। 
महानगरपालिकाको १० करोड सेयर लगानीमा यी बसहरु काठमाडौं भित्रिन लागेका हुन्। पाण्डेले भने ‘वागमति अञ्चल यातायात कार्यालयबाट रुट पर्मिट लिनुपर्यो, कर्मचारी जुटाउनुपर्यो, प्राविधिक कामहरु पुरा गरेर सञ्चालनमा ल्याउँछौँ।’ हालका दुई रुटमा पनि नयाँ बसहरु थप हुने उनले बताए। नयाँ कर्मचारी जुटाउन साझाले प्रस्ताव आह्वान गरेपछि इच्छुक कम्पनीहरुले आवेदन गर्ने छन्। साझाले उपयुक्त कम्पनी छनौट गरेपछि कर्मचारीहरु नियुक्त हुने छन्। कर्मचारीको तलव तथा अन्य सुविधा पनि साझाले कम्पनीलाई नै भुक्तान गर्ने गरेको छ। नयाँ बस भित्रिएपछि थप एक सय २५ जना कर्मचारी आवश्यक पर्ने र यसका लागि सार्वजनिक आह्वान प्रस्ताव हुने उनले जानकारी दिए।
 ३० वटा नयाँ बस थपिएपछि साझासँग जम्मा ४६ वटा बस हुनेछ। बन्द हड्तालमा समेत संचालनमा आउने गरेको साझा बसले पछिल्लो समय सर्वसाधारण यात्रुहरुको मन जित्न सफल भएको छ। कस्ता छन् भित्रिन लागेका नयाँ बस ? अहिले उपत्यकामा संचालनमा रहेका १६ वटा बसभन्दा नयाँ केही भिन्न हुने छन्। नयाँ बसको प्रमुख विशेषता भनेको यो अपाङ्गमैत्री हुनेछ। त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्नेगरी ‘र्याम्प्स्’ को सुविधा बसमा रहेको छ।
 उपत्यकामा पहिलो पटक यस्ता अपाङ्गमैत्री सार्वजनिक बस चल्ने भएका हुन्। ‘अपाङ्ग भएकाहरु सहजै चढ्न र झर्न सकुन् भन्ने उद्देश्यले र्याम्प्सको व्यवस्थासहितको बस आउँदैछ’ पाण्डेले भने। त्यस्तै अर्को नयाँ सुविधा भनेको बस ‘भेन्टिलेसनयुक्त’ अर्थात बाहिरको हावा सहज रुपमा भित्र छिर्ने खालको हुनेछ। अत्याधिक यात्रुहरु बसमा सवार हुने भएकाले भेन्टिलेसनयुक्त बस ल्याइने भएको साझाले जनाएको छ। अहिलेका बसमा २ क्रस ३ ‘साइड क्रोम’ सिट रहेकोमा नयाँ बसहरुमा २ क्रस २ हुनेछ। ४० वटा समाउने ‘स्ट्राप ह्याङ्गर’ हुनेछ।
 अहिलेका बसमा जस्तै डिस्प्ले र सिसिटिभी बसमा हुने नै छ। यसका लागि आह्वान प्रस्ताव गरिसकिएको पाण्डेले जानकारी दिए। यात्रुहरुका लागि ४० र ड्राइभरको १ गरेर जम्मा ४१ सिट बसमा रहेको छ। हाल संचालनमा रहेका बसहरुमा भन्दा थपिने बसमा धेरै मानिस अटाउने कामु कार्यकारी निर्देशक पाण्डेको भनाई छ। ‘२ बाई २ सिट मात्रै भएकाले धेरै मानिस सहजै ह्याङ्गर समाएर उभिन सक्छन्’ उनले भने।

, ,

0 comments

Write Down Your Responses