चालकलाई यसरी गोली हानी उद्योगपतिको अपहरण पुरा पढ्नुस खबर
काठमाडौं–हतियारधारी समूहले बाराको कलैयाबाट बिहीबार साँझ उद्योगपति तथा केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरण गरेको छ । परवानीपुरस्थित वीरगन्ज खाद्य उद्योगका सञ्चालक केडिया कलैयाको बघवन गाउँबाट बिहीबार साँझ अपहरणमा परेका हुन् ।
अपहरणकारीले चलाएको गोली लागेर केडियाका चालक श्यामउमेशप्रसाद साह कानु गम्भीर घाइते भएका छन् । दायाँ कन्चटमा गोली लागेका उनको अवस्था चिन्ताजनक छ । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं रिफर गरिएको छ ।
कामको सिलसिलामा बाराको बरियारपुर गएर वीरगन्जतर्फ फर्कने क्रममा कलैया नगरपालिकाको बघवन गाउँबाट केडिया अपहरणमा परेका हुन् । अपहरणकारीले साँझ साढे ६ बजे उनको अपहरण गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटनास्थल बारा सदरमुकाम कलैयाबाट तीन किलोमिटर पूर्वमा पर्छ । केडिया बा.१०च ७२४० नम्बरको टक्सन जिपमा बिहीबार दिउँसो बरियारपुरतर्फ गएका थिए । मैदा उत्पादन गर्ने वीरगन्ज खाद्य उद्योगका लागि आवश्यक गहुँ खरिद गर्न केडिया बरियारपुर जाने गरेका थिए । यसअघि केडियालाई कुनै धम्की नआएको उनीनिकट एक व्यापारीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


0 comments
Write Down Your Responses