यी दाजुबहिनीले गुमाए विषाक्त च्याउ खाँदा आफ्नै घरका परिवारै

आङ्ना पाँचथर मुस्किलले ज्यान बच्यो तर घर रित्तो छ । आमा, बाबु, दिदीबहिनी र दाजुभाइ कोही छैनन् । अस्पतालबाट निको भएर फर्किंदा घरमा दुई माना चामलबाहेक केही थिएन । सम्पत्तिको नाममा दुई गरा जमिन र त्यसैमा बनेको एउटा झुप्रो घर छ । दाजु र बहिनीको नासो त्यही मात्र बाँकी छ । काल्पनिक कथाजस्तो लाग्ने यो घटना पाँचथरमा जंगली च्याउ खाँदा परिवारै गुमाएका परिवारको कारुणिक चित्रण हो । सदरमुकाम फिदिमदेखि १२ कोस दक्षिणमा पर्ने आङ्ना १ स्थित ८ वर्षीया मुनुशा माङ्लाक र उनका दाजु १६ वर्षीय रामप्रसाद सपनाझैं जिउन बाध्य छन् । 
कालले साँचेझैं चिकित्सकको उपचारबाट उनीहरूले नयाँ जीवन पाएका छन् । गत जेठ १० गते जंगलबाट ल्याएको विषाक्त च्याउ खाँदा परिवारै बिरामी परेका थिए । विषाक्त च्याउले आमा, बाबु, दिदी र बहिनी गुमाएका छन् । बिरामी परेकामध्ये ४५ वर्षीया आमा पद्ममाया, ४७ वर्षीय बाबु वीरेन्द्र, मनुशाकी दिदी १३ वर्षीया कविता, बहिनी ५ वर्षीया सोनिका र बडीआमा ३९ वर्षीया मनकुमारीसहित एकै परिवारका ५ जनाले ज्यान गुमाए । विगतमा पनि खाँदै गरेकाले मुनुशा, ठूलोबुबाका छोराहरू सगुन र संगम माङ्लाकले नजिकै बारीबाट भुईंमा उम्रेको च्याउ टिपेर ल्याएका थिए । 
त्यही च्याउ बेलुकी तरकारी पकाएर खाएका उनीहरू आधा रातपछि बेहोस भएको मनुशाले बताइन् । बिरामी मनुशा, दाजु रामप्रसाद, काकाका छोराहरू टीका, सगुन र संगम माङ्लाक भने पाँचथर जिल्ला अस्पताल, लाइफलाइन अस्पताल झापा हुँदै बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचारपछि निको भएर घर आएका हुन् । उनीहरूले अस्पतालमै ज्यान गुमाएका परिवारको दाहसंस्कार गरेको समेत थाहा पाएनन् । अभिभावक गुमाएपछि यी दाजुबहिनी बिचल्लीमा परेका छन् । उनीहरूको पठनपाठनमा बाधा पुग्नुका साथै दैनिक जीवनयापनको माध्यमसमेत छैन । सुनसान घरमा एक्लै बस्न नसकेपछि मूलघरमा बस्दै आएका वृद्ध हजुरबुबा ७५ वर्षीय आशबहादुर माङ्लाक र ७५ वर्षीया हजुरआमा तिलाहाङ्माको साथमा छन् । ‘घरले जा, वनले आइज भन्ने बेलामा यो हाल भोग्नुपर्‍यो, दैव लागेपछि के गर्नु बाबु हो,’ वृद्ध आशबहादुरले भने, ‘मर्ने त मरिहाले, बाँच्नेलाई भगवान्ले आशीर्वाद देओस्, प्रार्थना गर्दै छु ।’ स्थानीय सिद्ध माविमा कक्षा ७ मा अध्ययनरत रामप्रसाद पढाइमा त्यति तीक्ष्ण नभए पनि निरन्तरता दिन उत्प्रेरित गरिरहेको शिक्षक युवराज सम्बाहाम्फेले बताए । 
उनकी बहिनी मनुशा आङ्ना १ कै भानुभक्त प्राविमा कक्षा २ मा पढछिन् । तर, दुवैले पढाइलाई निरन्तरता दिने आधार नभएपछि अलमलमा परेका छन् । ‘अब के खाने, के लाउने, कहाँ बस्ने टुंगो छैन,’ पीडित रामप्रसाद भन्छन्, ‘पढ्ने इच्छा त छ तर कसरी निरन्तरता दिने रु अन्धकारमा परेको छु ।’ आफ्नो र बहिनी मनुशाको संरक्षण, शिक्षा–दीक्षा र पालनपोषण गर्ने जिम्मेवारीसमेत उनकै काँधमा आएको छ । विषाक्त च्याउ खाएर बिरामी परेका परिवारको उपचारका निम्ति स्वदेश तथा विदेशमा रहेका आफन्त, छरछिमेकी एवं सहयोगी मन हुनेहरूबाट ‘आपतकालीन हातेमालो’ नामक सामाजिक सञ्जालबाट केही आर्थिक सहयोग संकलन भएको शिक्षक युवराज सम्बाहाम्फेले बताए । उनका अनुसार करिब पौने ५ लाख रुपैयाँ संकलन भएको छ । संकलित रकमबाट बिचल्लीमा परेका माङ्लाक दाजुबहिनीको पठनपाठन व्यवस्थापन गर्ने सोच भए पनि पर्याप्त नहुने बताउँछन् ।
 विषाक्त जंगली च्याउ खाएर ज्यान गुमाएकी ३९ वर्षीया मनकुमारी माङ्लाकका श्रीमान् कालुमान माङ्लाक मलेसियाबाट घर आएका छन् । उनले समेत छोराछोरीसँगै टुहुरा भतिजा भतिजीको हेरचाह गर्ने प्रतिबद्धता जनाए । तर, गरिबीको चपेटामा परेकाले पीडितका लागि राज्यबाटै निस्शुल्क शिक्षा, खाने बस्ने र पोसाकको व्यवस्था हुनुपर्ने बताउँछन् । च्याउ खाएर मृतक परिवारलाई स्थानीय प्रशासन, जिविस, गाविसलगायत सरकारी निकायले राहतसमेत उपलब्ध नगराएको पीडितका आफन्तजनले गुनासो गरेका छन् ।

, , ,

0 comments

Write Down Your Responses