प्यूठानमा पहिरोमा परी दुई घरको आठजनाको मृत्यु
प्यूठान, २१ असार । पहिरोमा पुरिएर प्यूठान जिल्लामा ८ जनाको मृत्यु भएको छ ।
अबिरल वर्षाका कारण गएको पहिरोमा पुरिएर मंगलबार राति उत्तरी प्यूठानका दुर्इ परिवारका ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उत्तरी प्यूठानको रजवारा– ३ नेटामा मङ्गलबार राति आएको पहिरोमा दुर्गबहादुर मल्लको घर पुरिँदा एकै घरका ५ जनाको मृत्यु भएको प्यूठान प्रहरी प्रमुख रन्जित सिंह राठौरले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार सबैको घटस्थल मै मृत्यु भएको थियो ।
पहिरोले मल्लकी श्रीमति सीता, छोरीहरू सिर्जना, लेखा र सुशीलाको घटस्थलमै मृत्यु भएको हो ।
छोरा बसन्त र अर्की एक छोरीको भने छिमेकीको घरमा बस्न गएकाले ज्यान जोगिएको बताइएको छ ।
घटस्थल सदरमुकामदेखि १७ कोष टाढाको दूरीमा पर्छ ।
पुजा गाबिस वडा नम्बर ३ वाग्लिबाङमा पहिरोले घर पुरिँदा एकै घरका ३ जनाको ज्यान गएको छ।
स्थानीय हुमबहादुर सुनार, उनकी श्रीमति खुसी र ७ वर्षीया छोरी रेखा सुनारको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहित रेडक्रसको टोली बिहानै रजवारास्थित पहिरो गएको स्थानमा पुगिसकेको छ ।


0 comments
Write Down Your Responses