ट्राफिक प्रहरी बिदा नबस्ने दसैँको मौका छोपेर छतमा यात्रु चढाए कारबाही गर्ने जानकारीको लागि सबैले सक्दो सियरर गर्नुहोस
काठमाडौं– ‘गाडीधनीले दसैँ–तिहारलाई कमाउने मौकाका रुपमा लिएका हुन्छन्, त्यस्तोमा तपाईंहरुलाई ‘दसैँ खर्चको लोभ देखाएर’ क्षमताभन्दा बढी यात्रु राख्न र तोकिएभन्दा धेरै भाडा असुल्न खोज्लान चनाखो रहनुस् ।’
आइतवार बिहानै ट्राफिक प्रहरी महाशाखामा थानकोट, नागढुंगा, कलंकी, बल्खु, कालीमाटी, नयाँ बसपार्क, कोटेश्वर र भक्तपुरका ट्राफिक प्रहरी इन्चार्जलाई भेला गरेर लामो ब्रिफिङ गरेका ट्राफिक प्रहरी प्रमुख प्रकाश अर्यालले ‘त्यस्तो प्रस्ताव आएमा अस्वीकार गर्नुहोला’ भन्दै आर्थिक रुपमा शून्य सहनशीलता अपनाएर ट्राफिक व्यवस्थापनमा लाग्न दिर्नेशन दिए ।
चाडबाडको मौका छोपेर तोकिएभन्दा बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई अन द स्पट कारबाही गर्न दिर्नेशन भएको छ,’ भेलामा सहभागी एक प्रहरी अधिकृतले रातोपाटीसँग भने, ‘कुनै व्यवसायीले आर्थिक प्रलोभन देखाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्लान् भन्ने अर्थमा उहाँले शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभएको हो ।’
दसैँ–तिहार तथा छठमा विशेषगरी काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने सवारीसाधनको चापलाई व्यवस्थित र मर्यादित बनाउन ट्राफिक प्रहरीले विशेष योजनासाथ काम थालेको छ । अघिल्ला वर्षका चाडपर्वमा खुलेआम छतभरि यात्रु चढाएर दौडने सवारीसाधनलाई हेरेर बस्ने ट्राफिकले यसपटक त्यस्तो गतिविधि नियन्त्रण गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
‘यातायात व्यवसायीसँगको बैठकमा क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने प्रस्ताव आएको थियो,’ महाशाखाका एसएसपी मिलन बस्नेत भन्छन्, ‘नियममा नभएको कुरालाई हामीले अस्वीकार गरेका छौं । त्यसैले यसपटक छतमा यात्रु बोक्ने सवारीसाधनलाई कानुनअनुसार कारबाही गर्छौं ।’
दसैँ सुरु भएसँगै दैनिक आठ हजार सवारीसाधन काठमाडौं बाहिर जान थालेका छन् । त्यस्तोमा छोटो दूरीका यात्रुले खोजेको बेला सवारी साधन नपाउने र लामो दूरीका यात्रुले टिकट नपाउने समस्या पुरानै हो, त्यो समस्या यसपटक पनि दोहोरिएको छ ।
उपत्यकाबाट बहिरिने सवारीसाधनले क्षमताभन्दा धेरै यात्रु बोक्ने, उचित कन्डिसनमा नभएको गाडी चलाउने, लामो दूरीका सवारीमा दुई चालक नहुने तथा बढी भाडा लिएर ठगी गर्ने गरेको तथ्यलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ११ स्थानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ ।
फर्जी टिकट नियन्त्रण गर्न, यात्रुको बहुमूल्य सामान हराउने समस्या समाधान गर्न तथा ठगी नियन्त्रणका लागि जनपद प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजसँगको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको जानकारी दिँदै एसएसपी बस्नेतले भने, ‘दसैँ सुरू भएपछि काठमाडौं बाहिरिने गाडीका चालकको जाँच तथा गाडीको कन्डिसनसमेत हेर्न थालेका छौँ ।’
ट्राफिक प्रहरी बिदा नबस्ने, लामो दूरीको सवारीलाई छड्के जाँच
उपत्यकामा कार्यरत १२ सयभन्दा बढीको संख्यामा रहेका ट्राफिक प्रहरी दसैँ–तिहार तथा छठ पर्वको बिदा नबस्ने भएका छन् । अरुको सुविधाका लागि काम गर्नुपर्ने भन्दै यसपटक कसैको बिदा स्वीकृत नगरिएको ट्राफिक महाशाखा स्रोतले जनाएको छ ।
‘हामी कसैको बिदा स्वीकृत गरेको छैन,’ उपत्यकामा कार्यरत एक ट्राफिक अधिकारीले भने, ‘हामी अरुको सुविधाका लागि काम गर्ने हुनाले यातायातको चाप हुने समय भएकाले दसैँ बिदाका लागि निवेदन दिएका कसैको बिदा स्वीकृत गरेको छैन ।’महाशाखाका एसएसपी मिलन बस्नेतले पालो मिलाएर बिदा दिने उल्लेख गर्दै भने, ‘बिदा लिनेभन्दा पनि सेवा दिने हाम्रो जिम्मेवारी हो ।’ दसैँको आगमनसँगै राजधानीका मुख्य चोक न्युरोड, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, कोटेश्वर, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, कलंकी, टेकु तथा बल्खुमा सवारीसाधन चाप अत्यधिक बढेको छ ।
त्यस्ता स्थानमा विभिन्न समूह छुट्याएर चेकिङ व्यवस्था गरिएको जानकारी दिँदै एसएसपी बस्नेतले भने, ‘लामो दूरीका सवारीसाधनको संख्या यात्रुको चापअनुसार अपुग देखिएकाले त्यस्तो सवारी थप गर्नेबारे समेत सरोकारवालासँग छलफल भइरहेको छ ।’
लामो दूरीका सवारीसाधनले तोकिएभन्दा धेरै भाडा लिन सक्ने तथा क्षमताभन्दा धेरै यात्रु बोक्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रहरीले छड्के जाँच सुरू गरेको छ । ‘लामो दूरीका सवारीसाधनलाई नाकाजन्य ठाउँमा जाँच गर्छौं,’ एसएसपी बस्नेतले भने, ‘कसैले प्रहरीलाई झुक्याएर धेरै भाडा लिने या क्षमताभन्दा धेरै यात्रु बोक्ने सम्भावना छैन किनकि ट्राफिक प्रहरी देशभरि छन् ।’
ट्राफिक महाशाखाका अनुसार लामो दूरीका सवारीसाधनलाई थानकोट, नागढुंगा, सूर्यविनायक, फर्पिङ र बालाजु बाइपासलगायत काठमाडौँबाट बाहिरिने सबै नाकामा नियमित चेक–जाँच भइरहेको छ ।
त्यस्तै लामो रुटमा चल्ने सवारीसाधनमा अनिवार्य दुईजना सवारी चालक राख्नुपर्ने तथा टिकट काउन्टरमा बसेर टिकट काट्नेको साथमा परिचपपत्र नभएमा कारबाहीको भागीदार हुनुपर्ने महाशाखाले जनाएको छ ।
मनपरी भाडा लिँदै हुनुहुन्छ ? सिभिल प्रहरीको फन्दामा पर्नुहोला !
दसैँमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनका लागि ट्राफिक प्रहरी महाशाखाले मनपरी भाडा लिनेलाई कारबाही गर्नका लागि सिभील प्रहरी परिचालन गरेको छ । ‘मिटरमा हिँड्न नमान्ने ट्याक्सी र सरकारले तोकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाहीका लागि सिभिलमा प्रहरी खटाएर कारबाही सुरू गरिएको छ,’ महाशाखाका एक इन्सपेक्टरले भने, ‘आरक्षण सिटमा महिला, अपांग तथा ज्येष्ठ नागरिकलाई नराख्ने सवारीसाधन पनि कारबाहीको भागीदार हुन्छन् ।’
लामो दूरीमा गुड्ने सवारीचालकले मदिरा पिएर गाडी चलाउन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा मापसे चेकिङलाई पनि कडाइसाथ कार्यान्वयनमा ल्याएको छ । ‘दसैँको ट्राफिक व्यवस्थापन गर्दा हामीले मापसे चेकिङलाई महत्वपूर्ण रुपमा लागू गरेका छौं,’ महाशाखाका एक अधिकारीले भने, ‘दसैँमा खाली हुने काठमाडौँको सडकमा तीव्र गतिले मोटरसाइकल दौडाउनेलाई पनि सवारी ऐनअनुसार कारबाही हुन्छ ।’


0 comments
Write Down Your Responses